एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर गर्न नदिए गठबन्धनबाट बाहिरिने चेतावनी

काठमाडौं: नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरे सरकारबाट बाहिरिने चेतावनी दिएकाे छ ।
शनिबारदेखि राजधानीमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले मन्त्री हेरफेरमा अब देउवा र प्रचण्डलाई नपर्खिने र निर्णय कार्यान्वयन नगरेसम्म सत्ता गठबन्धनबाट बाहिरिनेसम्मको अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिएको हाे ।

‘मन्त्री हेरफेरका सम्बन्धमा आजसम्म हामीले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँलाई पर्खिने छैनौं। तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउनुस्। पार्टीको निर्णयलाई कदर गर्नुस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने हामी यसलाई तपाईंहरुले गरेको अपमान ठान्ने छौं,’ केन्द्रीय समितिको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने।

उनले अगाडि भने, ‘तपाईहरुले हेलचक्रयाई गर्दा, खेल्न खोज्दा, आफ्नो पार्टीभित्रको आन्तरिक तनाव व्यवस्थापन गर्न समय माग्दा आज हाम्रो पार्टीमा यहाँहरुले खेलेको जस्तो, अप्ठेरो पार्न खोजेजस्तो, हामीलाई लज्जित गर्न खोजेजस्तो देखिएको छ। यो तपाईहरुको कारणले भएको हो। यसलाई हामीलाई अपमान गरेकोजस्तो बुझेका छौं। अब ढिलाई नगर्नुस्। अब धेरै ढिलाइ भयो भने त्यसपछि गरौंला। गठबन्धनबाट बाहिरिनेसम्म सोच्न बाध्य हुनेछौं।’

प्रवक्ता खतिवडाले हस्ताक्षर फिर्ता लिएका ६ जना सांसदसहित १० जनाले सरकारमा पठाउने मन्त्रीको नाम संशोधन हुनुपर्ने भन्ने कुरामा अहिले सूची संशोधन नहुने बताए। पार्टीले गरेको निर्णय हुबहु कार्यान्वयन हुने उनको भनाइ छ। ‘समयक्रममा नाम थप्नुपर्ने कुरा होला। पार्टी आन्तरिक जीवनको कुरा हो। तर नाम संशोधन गरेर पठाइँदैन,’ उनले भने।

प्रवक्ता खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीलाई नभएको पनि स्पष्ट पारे। ‘भएका साथीले मन्त्रीबाट बिदा लिने र नयाँले मन्त्री लाने कुरामा पार्टीलाई कुनै शर्त मानिँदैन,’ उनले भने।

कमेन्ट गर्नुहोस्