आन्दोलन सफल भएपछि लगानीकर्तामा उत्साह, ५ प्रतिशतले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै बजारमा उत्साह छाएको हो ।

आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६।६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६।६६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भयो।आजको दिन २३० स्टकको ४४ हजार ३४१ पटकको कारोबारमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको ६३ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भयो।

नेप्से उच्च अंकले बढेसँगै यस दिन २२३ स्टकको मूल्य बढ्यो। आज ३ दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोमध्य पनि २१ स्टकको मूल्य १० प्रतिशत बढ्यो। यस दिन ५ स्टकको मात्र मूल्य घट्यो। जसमध्ये ४ वटा ऋणपत्र रहेका छन् भने एक म्युचुअल फण्ड रह्यो।

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रह्यो। सो स्टकको यस दिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो।

यस दिन १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढ्यो। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढ्यो।

कमेन्ट गर्नुहोस्