उपराष्ट्रपति पुन र बाबुरामबीच भेटघाट, पूर्व माओवादीहरुबीच बृहत ध्रुवीकरणको सम्भावना

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिने निर्णय गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपरराष्ट्रपति नन्दकिशोर पुनबीच भेटघाट भएको छ ।

उप राष्ट्रपति निवास लैनचोरमा दुबै नेताबीच छलफल भएको हो ।

जनता समाजवादीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी विभाजन गर्ने सहमति जुटेपछि नयाँ पार्टी दर्ता गर्ने अवस्थामा पुगेका बाबुरामले माओवादी ध्रुवीकरणका लागि पहल गरेका हुन । यसका लागि उपराष्ट्रपति पुनले विशेष भूमिका खेलिरहेको श्रोतले बतायो ।

२०७२ सालमा माओवादी परित्याग गरेका बाबुराम भटटराईले माओवादको कोर्स समाप्त भएको भन्दै नयाँ शक्ति गठन गरेका थिए । माओवादी आन्दोलनमा बिभिन्न चिरा भएको अवस्थामा बाबुराम भट्टराईले मात्रै माक्र्सवादी दर्शनको सान्दर्भिकता सकिएको निष्कर्श निकाल्दै नयाँ पार्टी गठन गरेका थिए । वैद्य, विप्लव, गोपाल किँराती, आहुती लगायतका नेताहरुको नेतृत्वमा गठन भएका माओवादी धारका पार्टीहरुले भने वैचारिक मार्गदर्शन परित्याग गरेका छैनन् ।

श्रोतका अनुसार, माओवादी केन्द्रका केही नेताहरुले अर्का माओवादी नेता मोहन वैद्यसँग समेत एकताका लागि छलफल अघि बढेका छन् ।

यसै सातामात्र विप्लव समूहबाट फर्केका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी गौरवशाली इतिहास बोकेका सबै नेता तथा समूहहरुलाई इतिहासको गम्भीर समीक्षा गरेर बलियो माओवादी केन्द्र निर्माणमा जोड दिएका थिए ।

यद्यपी बाबुराम भट्टराईले पार्टी परित्याग गर्ने विषय भने अझै निर्णयमा भने पुगेको छैन । जसपा कार्यकारिणी समितिको बैठकबाट दुबै नेताहरु औपचारिकरुपमा विभाजन हुने बताइएको छ ।

बाबुराम भट्टराईले तत्कालका लागि एकता गर्ने र वैचारिक तथा सांगठनिक छलफल चलाउँदै माओवादी केन्द्रसँग एकता गर्न सक्ने सम्भावना बलियो भएको माओवादीका एकजना पूर्व स्थायी समिति सदस्यले बताए । बाबुराम भट्टराईले सैद्धान्तिकरुपमा नै फरक मत राखेको अवस्थामा एकताको विषय जटील भएपनि निकट भविष्यमा विगतको माओवादी आन्दोलनसँग जोडिएका सबै दलबीच समान धारणा विकासका लागि समेत वातावरण भने बनेको उनले बताए । अहिले सबै पक्षसँग छलफल चलिरहेको र गम्भीर समीक्षासहित बलियो माओवादी केन्द्र निर्माण हुने सम्भावना बढेको हो ।

– नारायणप्रसाद ढुंगाना 

कमेन्ट गर्नुहोस्