एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशमा सत्तारुढ घटकले नै मुख्यमन्त्री फेर्न दबाब दिएपछि सरकारको नेतृत्व गर्दै आएको नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा शनिबार सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बस्ने भएको हो ।

संसदीय दलको बैठकमा सहभागी हुनका लागि पार्टीका सबै सांसदलाई काठमाडौं बोलाइएको एक नेताले बताए । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसअघि नै काठमाडौं आइपुगेका छन् ।

शुक्रबार मुख्यमन्त्री पाण्डेले पार्टी नेतृत्वसँग छलफल गरेका थिए । उनले विगतमा आफूसहितले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । मुख्यमन्त्री पाण्डेकै पहलमा संसदीय दलको बैठकमार्फत सत्ता हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न लागिएको स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्