‘लोकल रक्सी’लाई ब्राण्डिङ्ग र बजारीकरणको योजना बनाउँदै लुम्बिनी प्रदेश

बुटवल । लुम्बिनी प्रदेश सरकारले जनजाती समुदायबाट उत्पादन हुने पेय पदार्थ (स्थानीय–लोकल रक्सी)को बजारीकरण गर्ने भएको छ ।

प्रदेश सरकारको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनजाती समुदायबाट कोदो, मौवा, अनदी, कुरीलोबाट उत्पादन हुने पेय पदार्थको प्याकेजिङ्ग, ब्राण्डिङ्ग र बजारीकरण गर्नको लागि अध्ययन समेत गरेको छ ।

मन्त्रालयले विज्ञहरूसँग छलफल गरेर तयारी सुरु गरेर साउनदेखि काम थालनी गर्ने तयारी गरेको छ । भदौ महिनादेखि प्रदेशका चार स्थानबाट समुदाय स्तरबाट उत्पादन गर्दै आएको पेय पदार्थको बजारीकरण सुरु हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जानकारी दिए।

मगर, थारु, गुरुङ्ग, कुमाल समुदायले कोदो, मौवा, अनदीको चामल, कुरीलो, मकै, शालको मुनाबाट उत्पादन गर्ने पेय पदार्थलाई बजारीकरण गर्ने पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले बताए । यसबाट १ देखि ५ लाख जननले रोजगारी सिर्जना हुने उनको भनाइ छ ।

प्रदेश सरकारले दाङ, रोल्पा , पाल्पा, रुकुमबाट पेय पदार्थको उत्पादन र बजारीकरण सुरु गर्ने तयारी गरेको हो । आगामी आर्थिक वर्ष लागि प्रदेश सरकारले २ करोड बजेट छुट्टाएको र माग अनुसार बजेटको व्यवस्थापन गरिने पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्