अभिनेता राजपाल यादवविरुद्ध नोटिस जारी, २० लाख ठगेको आरोप

मुम्बई, वलिउडका चर्चित अभिनेता राजपाल यादवविरुद्ध प्रहरीले नोटिस जारी गरेको छ ।

भूल भुलैया २ को अभियनमा व्यस्त रहेका राजपाल यादवले एकजना ठेकेदारलाई धोका दिएर २० लाख लिएको आरोप छ । उनीविरुद्ध मुद्दा दर्ता भएपछि इन्दौर प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

समाचार अनुसार, राजपालाई १५ दिन भित्र प्रहरीसामु उपस्थित हुन भनिएको छ । सुरिन्दर सिंह नाम गरेका ठेकेदारले उनको छोरालाई चलचित्र उद्योगमा सहयोग गर्ने र अगाडि बढाउने आश्वासन दिएर २० लाख रुपैयाँ लिएको तर कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।

ठेकेदारका अनुसार, पैसा माग्न जाँदा यादव वेपत्ता भएको र फोन समेत उठाउन छोडेको थिए । त्यसपछि प्रहरीमा रिपोर्ट गरेको उनले बताएका छन् ।

यसअघि पनि राजपालविरुद्ध ५ करोडको ठगी आरोप लागेको थियो । अता पता लापता नामक चलचित्र निर्देशनको बेला चलचित्र निर्माणका लागि एकजनासँग ५ करोड लिएका राजपालले ऋण चुक्ता नगरेको भन्दै मुद्दा दर्ता भएको थियो । अदालतको आदेश हुँदा समेत राजपालले पैसा नदिएपछि उनलाई जेल सजाय भएको थियो । यद्यपी उनले पछि जमानत पाएका थिए ।

कमेन्ट गर्नुहोस्