बाग्मतीमा सरकार परिवर्तनले अन्य प्रदेशमा पनि असर पर्ने माधव नेपालको संकेत

काठमाडौं । बाग्मती प्रदेश सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त्यसको असर अन्य प्रदेशमा समेत पर्ने संकेत दिएका छन् ।

तत्कालिन अवस्थामा सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच सहमति भएपनि नेता नेपालले भने गठबन्धनको बैठकले निर्णय गरेपछि मात्रै सरकार परिवर्तनबारे सोच्न सकिने जवाफ दिएका हुन ।

गठबन्धनको बैठकले यो विषयले निर्णय गर्ने अवस्थामा एकीकृत समाजवादीले बाग्मतीमा सरकार परिवर्तन गर्ने हो भने सुदूरपश्चिममा आफूले सरकारको नेतृत्व पाउनुपर्ने अडान राख्न सक्ने देखिन्छ ।

काठमाडौंमा आयोजित एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

“गठबन्धनको निर्णयअनुसार संघ र सबै प्रदेशमा सरकार बनाएको हो । गठबन्धनले बनाएको सरकार हो गठबन्धनले मुख्यमन्त्री हट्नु पर्छ भनेर निर्णय गरेको छैन । त्यसैले अहिले छाड्नु पर्दैन । गठबन्धनबाट निर्णय भयो भने छाड्ने कुरामा हामी प्रतिबद्ध छौं”, नेपाललाई उद्धृत गर्दै सांसद लक्ष्मण लम्सालले बताए ।

गठबन्धनको बैठकमा सहमति भएमा अन्य प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुनसक्ने सम्भावना देखिएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीको सदनमा बलियो उपस्थिति भएका कारण उनीहरुले त्यहाँ मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्