विद्यार्थीहरूलाई असार २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले कोभिड–१९ पछि चीनबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई पर्सी असार २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी भएको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पर्सिदेखि दुई सय ८१ जना विद्यार्थीलाई अध्ययनका लागि पुन चीन पठाइने र त्यसपछि बाँकी विद्यार्थीलाई पनि पठाउनका लागि पहल भइरहेको जानकारी दिए ।

प्रवक्ता लम्सालले चिनिया दूतावासको समन्वय र सहकार्यबाट नेपालबाट अध्ययनका लागि चीन फर्काउनुपर्ने सम्पर्कमा रहेका सबै ८ सय ५० जनालाई नै पठाउने गरी मन्त्रालयले काम गरिरहेको बताए।

प्रवक्ता लम्सालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या र मागका सम्बन्धमा नेपाल सरकारले उच्च प्राथमिकताका साथ कुरा उठाइरहेको र त्यस विषयमा सम्बोधन गर्नका लागि नेपाल र बेलायतबीच दुई पक्षीय वार्ता गर्ने सहमति पनि भइसकेको बताए ।

उनले त्यस विषयमा हाल प्रारम्भिक छलफल सुरु भएको र पूर्व गोर्खा सैनिकका प्रतिनिधिहरूको सहभागितामा उनीहरूका माग सम्बोधन गराउन लण्डनस्थित नेपाली दूतावास लागि रहेको बताए ।

ई–पासपोर्ट वितरणलाई राहदानी विभागले प्रभावकारी बनाउँदै गइरहेको जानकारी दिदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले हाल प्रत्येक दिन २ हजार ४ सय जनाले अनलाइनमार्फत फारम भर्न सक्ने व्यवस्था मिलाइएको बताए।

कमेन्ट गर्नुहोस्