विनोद शाही मृत्यु प्रकरण अछाम पञ्चदेवलकी मेयर अम्बिका पक्राउ

 

आछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्।

१७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि मेयर चलाउनेलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

उनी वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। पक्राउपर्नेमा उनीसहित नेत्र शाही पनि छन्।

विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। अहिलेसम्म सात जना पक्राउ परेका छन् भने छ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ।

विनोद कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। यहाँ वैशाख ३० मा स्थानीय चुनावका बेला कांग्रेस र एमाले कार्यकर्ताबीच झडप पनि भएको थियो। उक्त झगडा जेठ १७ मा फेरि बल्झेको थियो।

शाही सोही झगडा भएको दिन जेठ १७ गतेदेखि बेपत्ता भएको र उनको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको आफन्तहरूको भनाइ छ।

यो घटनाको सिआइबीले पनि अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको भन्दै प्रदर्शन गरिरहेका छन्।

मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप लागेको छ।

सोही विषयमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सुदूरपश्चिम प्रदेश कमिटीले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो।

यसैबीच विनोदको हत्या आरोपीलाई पक्राउ नगरेको भन्दै अछामका पाँच राजनीतिक दलले आइतबार यातायात बन्द गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले आइतबार बिहानैदेखि अछामको यातायात बन्द गरेका हुन्।

दुई दिनका लागि यातायात बन्द गरिएको उनीहरूको भनाइ छ। प्रहरीले भने यातायात खुलाउने प्रयास भइरहेको बताएको छ।

कमेन्ट गर्नुहोस्