खुल्यो पोखराको बगरमा ‘जिम टाउन’, जिमसँगै स्विमिङ पनि

पोखरा । पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१ बगरमा ५ करोडको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो ।

राजनीतिकर्मी तथा खेलकुदकर्मी ६ जना युवाहरु मिलेर ‘जिम टाउन’ सञ्चालनमा ल्याएका हुन् । यसको कार्यकारी अध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य दीपक कोईराला छन् । उनी क्रिकेट संघका कार्यवाहक अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसमेत हुन् । त्यस्तै, फेन्सिङ खेलाडी बलराम सुवेदी म्यानेजिङ डाईरेक्टर छन् भने सञ्चालक सदस्यमा वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष सुमन देवकोटा, नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङ (आभाष), खेलाडी वामदेव सुबेदी र खेल विज्ञ नवीन आचार्य छन् ।

‘जिम टाउन’को पहिलो तलामा २ वटा स्विमिङ पुल छ । यो ईनडुअर स्विमिङ पुल हो । जहाँ बालबालिकाका लागि सानो स्विमिङ पुल छ भने किशोर, युवा र वयश्कहरुका लागि ५० मिटर लम्बाई र ३० मिटर चौडाईं भएको स्विमिङ पुल छ ।

बालबालिका केन्द्रीत स्विमिङ पुल १० वर्ष मुनिकालाई हुनेगरी बनाइएको छ । अर्को ४ देखि ५ फुटसम्मको गहिराई भएको ठूलो स्विमिङ पुल छ । जहाँ एकैपटक ५० भन्दा बढीले स्विमिङ गर्नसक्ने ‘जिम टाउन’का म्यानेजिङ डाईरेक्टर बलराम सुवेदीले जानकारी दिए ।

‘जिम टाउन’को दोश्रो तलामा रेष्टुरेण्ट छ । जहाँ एकैपटक ७० जनासम्मले बसेर खान मिल्ने सुवेदीले बताए । उनका अनुसार रेष्टुरेण्टमा अर्गानिक खानेकुरा खुवाईन्छ ।

तेश्रो तलामा भने जिम छ । सो जिममा अत्याधुनिक ईक्यूपमेन्टहरु हालिएका छन् । जसले जिम गर्नेलाई आफूले चाहेको शरिर बनाउन मद्दत पुग्ने बलराम सुवेदीले बताए । महिला र पुरुष गरेर एकैपटक ७० जनासम्मले जिम गर्न मिल्ने उनले जानकारी दिए ।

‘जिम टाउन’का अध्यक्ष दीपक कोइरालाले शरिर स्वस्थ र आकर्षक बनाउन चाहनेका लागि जिम, शरिर स्फुर्ती र शितल बनाउनका लागि स्विमिङ पुल र अर्गानिक खान चाहनेका लागि लक्षित गरेर रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको बताए । ‘यहाँ जिम गरिसकेपछि थकान मेट्न र आफूलाई रिफ्रेस गर्न स्विमिङ पुल तथा रिफ्रेस भइसकेपछि भोक मेटाउन होस् वा आफ्नो रुची अनुसारको खाजा खान रेष्टुरेण्ट प्रयोग गरुन भन्ने उद्देश्यले एकै ठाउँमा जिम, रेष्टुरेण्ट र स्विमिङ पुल खोलेका हौं’–उनले भने ।

उनले साँझमा रमाउन चाहनेका लागि रेष्टुरेण्ट उपयोगि हुने बताए । ‘बगर, लामाचौर, बाटुलेचौर, पुरुञ्चौर, हरिचोक, हेमजाबासीलाई लेकसाईड पुग्न असजिलो छ । उहाँहरुको लागि यो सबैभन्दा उपयुक्त गन्तव्य हो । हो उहाँहरुलाई नै लक्षित गरेर हामीले यो सञ्चालनमा ल्याएका हौं’–उनले थपे ।

कमेन्ट गर्नुहोस्