श्रीलंकामा इन्धनको हाहाकार, सस्तोमा तेल खोज्दै कतार र रसियामा श्रीलंकन अधिकारी

काठमाडौं । श्रीलंकामा इन्धनको मौज्दात एक दिनलाई मात्रै बाँकी रहेपछि हाहाकार मच्चिएको छ ।

विदेशी मुद्राको अभावमा लामो समयदेखि इन्धन आपूर्ति गर्न नसकेकाले अब एक दिनका लागि मात्रै इन्धन बाँकी रहेको र त्यसपछि आकस्मिक प्रयोगका लागि पनि इन्धन नरहने त्यहाँको ऊर्जा मन्त्रालयले जनाएको छ ।

राजधानी कोलम्बोसहित देशभरका पेट्रोल पम्पहरूमा तेल भर्ने पालो पर्खेर बसेका सवारी साधनको लामो लाइन लागेको छ । तर पेट्रोल पम्पहरूले पहिले नै सुख्खा लागेको जनाइएको छ । देशभर रहेका चार हजार पम्पहरूमा अब एक दिनका लागि पुग्ने तेल मात्रै बाँकी रहेको ऊर्जामन्त्री कञ्चना विजेसेखेराले बताएका छन् ।

सरकारले पछिल्लो पटक खरिद गरेको तेल आइपुग्न अझै दुई साता लाग्ने छ । इन्धनको अभाव भएपछि सोमबारदेखि लागू हुने गरी देशभरका विद्यालयहरू समेत बन्द गरिएको छ । तत्कालका लागि एक साता विद्यालयहरू बन्द गर्ने र घरबाटै अनलाइन कक्षा लिन भनिएको छ । तर इन्धनको अभावमा बिजुली संकट समेत बढेकाले अनलाइन कक्षाको टुंगो नुहने बताइएको छ ।

सरकारले बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म बिजुली आपूर्ति अवरुद्ध नहुने व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

हाल श्रीलंकाका जनताले आर्थिक संकटका कारण कठिनाइहरुको सामना गरिरहेका छन् । विशेष गरी गरिब र विपन्न वर्ग संकटबाट झन बढि प्रभावित बनेका छन् ।

नगद संकटमा परेको भन्दै श्रीलङ्काले सस्तोमा तेलको आपूर्ति सुरक्षित गर्न प्रमुख ऊर्जा उत्पादक रसिया र कतारमा आफ्ना अधिकारीहरू पठाएको छ।

कमेन्ट गर्नुहोस्