सांसदहरुको चर्को विरोधपछि समेटियो गण्डकीमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

पोखरा । गण्डकी प्रदेशको बजेटमा पुनः निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समेटिएको छ । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले यो कार्यक्रम ल्याउँदा जनस्तरबाट विरोध भएको थियो भने, हालका अर्थमन्त्री रामजी प्रसाद बरालले यो कार्यक्रम हटाउँदा भने सांसदहरुले चर्को विरोध जनाए।

यो कार्यक्रम हटेपछि सांसदहरुको विरोधका कारण २० दिनदेखि संसद बैठक बस्न सकेको थिएन । अर्थ विविध कोषमा राखिएको रकमलाई शीर्षक फेरेर भए पनि बजेट दिने सहमतिपछि संसदको अवरोध हट्ने भएको हो ।

सहमति अनुसार सरकारले निर्वाचन क्षेत्र कार्यक्रमको ७२ करोड रुपैयाँ विनियोजन गर्नेछ । प्रति निर्वाचन क्षेत्रमा २ करोडका दरले ३६ निर्वाचन क्षेत्रमा बजेट राखिन्छ । तर विगतमा यो बजेटको दुरुपयोग भएको भन्दै आलोचना भएको थियो । बजेटको रकम सांसदले आवश्यकताका योजना भन्दा पनि कार्यकर्ता खुशी पार्नका लागि खर्च गरेको आरोप लाग्दै आएको थियो ।

संघ र प्रदेशको निर्वाचन नजिकिएकाले निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम राख्न गण्डकीका अधिकांश सांसदले अर्थमन्त्री तथा मुख्यमन्त्रीलाई दबाब दिएका थिए । कार्यक्रम हटाइएको भन्दै अर्थमन्त्रीको राजीनामा समेत मागिएको थियो । अहिले यो विषयमा सहमति जुटेसँगै प्रदेशसभा बैठक बस्ने तय भएको छ ।

कमेन्ट गर्नुहोस्