हिन्दू देवी कालीले चुराेट पिउँदै गरेकाे पाेष्टरले भारतमा तनाव

एकजना चलचित्र निर्माताले हिन्दूहरुकी देवी कालीले चुरोट पिउँदै गरेको पोष्टर सार्वजनिक गरेपछि भारतमा ठूलो तनाव चुलिएको छ ।

केही समयअघि मात्रै भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले इस्लाम धर्मावलम्बीका पैगम्बर मोहम्मदबारे गरेको टिप्पणीले तहल्का मच्चिएको थियो ।

अहिले भने पोष्टरका कारण चौतर्फी विवाद देखिएको हो ।

एनडिटिभीका अनुसार तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोष्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ।

मनिकेकालाईको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो।

उक्त पोस्टर सार्वजनिक भएसँगै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट लीना मनिमेकालाई ह्यासट्याग चलाइरहेका छन् भने दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीविरूद्ध छुट्टाछुट्टै उजुरी परेका छन्।

सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले पनि यो पोस्टरले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको भन्दै विरोध गरेका छन्।

ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ।

सामाजिक सञ्जालमा आफूमाथि आक्रमण हुन थालेपछि लीना मनिमेकालाईले भने आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै कसैसँग पनि नडराउने बताएकी छन्।

कमेन्ट गर्नुहोस्