निर्दोष सावित भएपछि शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ : बर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । अहिले छानविनका लागि मार्गप्रसस्त मात्रै गरको भन्दै नेता पुनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् ।

संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जानकारी दिए । पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए ।

अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाई छ ।

उनले छानविन समितिले सत्यतथ्य ल्याउने भएपनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ती जनाए । बजेट निर्माणको विषयलाइ लिएर सार्वनिक विरोध भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्