विधेयक माथि छलफलमा सांसदको अरुचि , गणपुरक संख्या नपुगेर प्रतिनिधिसभामा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपुरक संख्या नपुग्दा स्थगित गरिएको छ । औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नेक्रममा कूल संख्याको एक तिहाइ पनि सांसदहरू उपस्थित नहुँदा प्रतिनिधसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा धेरैजसो सांसद उपस्थित थिए । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि संसद्‌को अन्य कारबाही अगाडि बढेको थियो । त्यसैक्रममा सांसदहरू भने बैठक छोडोर बाहिरिएका थिए ।

 

औषधि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल चलेर स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले जवाफ दिने बेलासम्म संसद् बैठकका कुर्सी रित्ता देखिएका थिए । संविधानको धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक तिहाईको सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ ।

सांसद बस्ने कुर्सी रित्ता देखिएको अवस्थामा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेमकिपाका सांसद प्रेम सुवालले गणुरक संख्याको प्रश्न उठाएका थिए । त्यसपछि सभामुख सापकोटाले ३ मिनेट घण्टी बजाउन निर्देशन दिएका थिए ।

सांसदहरूले हाजिर गरी बाहिरिएकाले ३ मिनेटमा पनि गणपुरक संख्याअनुसार सांसदहरू पुगेका थिएनन् । ३ मिनेट घण्टी बजाउँदा पनि ६५ सांसदमात्रै उपस्थित भएका थिए । जबकी गणपुरक संख्या ६९ हो ।

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यसअघि पनि प्रतिनिधिसभा बैठक गणपुरक सांसद उपस्थित नहुँदा स्थगित भएको थियो ।

कमेन्ट गर्नुहोस्