विप्लव नेतृत्वकाे नेकपाले आगामी निर्वाचनमा भाग नलिने

काठमाडौं : विप्लव नेतृत्वकाे नेकपाले आगामी निर्वाचनमा भाग नलिने भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा विप्लवले उक्त कुरा बताएका हुन ।

महासचिव विप्लवले आगामी निर्वाचनमा पार्टीले भाग नलिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विप्लवले हरेक मोर्चामा पार्टी जनतासँग सँगै रहने र निर्वाचनमा भने भाग नलिने बताए। उनले जनताका मुद्दाहरुलाई अघि बढाउनका लागि क्रान्तिकारी मोर्चाको विषयमा छलफल गर्ने बताए।

त्यस्तै उनले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) कुनै हालतमा लागु हुन नदिने चेतावनी दिए। मुलुकमा भएको स्रोत र साधनलाई कब्जा गरी परनिर्भरता बनाउन खोजेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्ने उनको भनाइ छ।

उनले एमसीसी र एसपीपीका सन्दर्भमा कांग्रेस अमेरिकाप्रति बफादार देखिएको धारणा पनि राखे। उनले एमसीसीविरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीसँग लाखौं रुपैयाँ धरौटी मागेकोप्रति आपत्ति जनाए।

राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने तयारी गरेको केही नेताले भन्ने गरेको आफूले सुनेको भन्दै उनले देश हितविपरीत काम गर्नेलाई प्रतिबन्ध नै लगाउने जिकिर गरे।

विप्लवले जनताले पूर्ण रुपमा अधिकार प्राप्ति नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्