तत्काल नयाँ अर्थमन्त्री नियुक्त नहुने, शर्मा पुन: नियुक्त हुने सम्भावना

स‌सदीय छानबीन विशेष समितिलाई अनुसन्धानमा सहज गर्न अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले नै अर्थमन्त्रालय आफूसँग राखेका छन् ।

योसँगै नयाँ अर्थमन्त्री को बन्ने चर्चा समेत सुरु भएको छ ।

तर प्रधानमन्त्रीले अहिले अरु कसैलाई जिम्मेवारी नदिएपछि संसदीय छानबीन समितिको प्रतिवेदनपछि मात्रै यसबारेमा निर्णय हुने अनुमान गर्न सकिन्छ ।

माओवादीको भागमा परेको अर्थमन्त्रालय कांग्रेसलाई दिने अवस्थामा माओवादीलाई गृह मन्त्रालय दिनुपर्ने अवस्था सिर्जना हुनेछ । अर्थ मन्त्रालय कांग्रेसलाई दिएर गृह मन्त्रालय लिँदा राम्रो हुने मत माओवादीभित्र नभएको होइन । शक्तिशाली मन्त्रालयको वर्गीकरण गरेर कांग्रेसले गृह र माओवादीले अर्थ लिने समझदारी गरेका थिए । अर्को शक्तिशाली मन्त्रालय रक्षा कांग्रेसकै भागमा छ ।

तर निर्वाचनको मुखमा गृह मन्त्रालय चलाउन प्रधानमन्त्रीले चाहेको देखिन्न ।

तर माओवादीले भने शर्माको विकल्पमा अर्को अर्थमन्त्री पठाउने सम्भावना भने कम रहेको श्रोत बताउँछ । गृह पाए मात्रै अर्थ छाड्न सक्ने संकेत गरेको छ । माओवादी नेता पुनले यसबारे कुनै कुराकानी नभएको बताए । ‘समितिको प्रतिवेदन नआउँदासम्म हेरफेर हुने सम्भावना देख्दिनँ,’ उनले भने ।

कांग्रेसका एक नेताका अनुसार मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलमै छानबिनका लागि संसदीय समिति बनाउने समझदारी बनेको थियो । त्यही आधारमा प्रतिनिधिसभाले बुधबार ११ सदस्यीय संसदीय समिति बनाएको हो । समितिको सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । समितिको सभापतिको चयन सदस्यहरु आफैँले गर्न सक्नेछ । यसमध्ये सत्तागठबन्धनबाट ६ जना रहेका छन् ।

सबैभन्दा बलियो सम्भावना भनेको निवर्तमान अर्थमन्त्री नै पुनः अर्थमन्त्रीका रुपमा दोहोरिन सक्ने रहेको छ । अर्थमन्त्री शर्माले संसदमा अत्यन्तै मनोबलका साथ हजार छानबीनका लागि समेत तयार रहेको अभिव्यक्ति दिएका थिए । यदि उनीमाथि लगाइएको आरोप पुष्टि नभएमा माओवादीले उनलाई नै अर्थमन्त्रीका रुपमा अघि सार्नेछ । त्यो अवस्थामा उनले अनिच्छा गरेमा मात्रै अर्को पात्रको खोजी हुनसक्ने देखिन्छ ।

अर्थमन्त्रीमाथि जे जति आरोप लगाइएपनि तिनलाई पुष्टि गर्न भने त्यति सहज छैन । किनभने यो विषयमा गठबन्धन दलहरुबीच भएको छलफल, माओवादीभित्र भएको छलफल र प्रधानमन्त्री देउबा र अध्यक्ष प्रचण्डबीच भएको छलफलका क्रममा समेत अर्थमन्त्रीले कुनै गल्ती नगरेको ठहर भएकाे थियाे । माओवादीले अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने निश्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्