सिन्धुली । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटना भएको छ ।
शुक्रबार सिन्धुलीको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उहाँ सवार कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, गणेश थापा लगायत सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
पूर्वमन्त्री शेर्पाको अवस्था सामान्य रहेको बताइएको छ । घाइते चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा सहभागी हुन जाँदै गर्दा कार दुर्घटना भएको हो ।