काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान नै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गरेका हुन् ।
शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ को शुभारम्भ गर्दै उनले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउने जस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
सभामुख सापकोटाले युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गराए । हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको समेत बताए ।
सभामुख सापकोटाले भने, ‘‘लैंगिक असमानताका विरुद्धमा तपाईँले हाम्रै देशको स्थानीय तहलाई राम्रोसँग अध्ययन गर्नु भयो भने पनि देखिन्छ । मैले भन्नु पर्दैन । काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरूले के देखाएको छ त भन्दाखेरी विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन् । यो सन्तुष्ट छैनन् भन्ने कुरा बडो भद्र, शालीन र चुनावको माध्यमबाट जनताले अभिव्यक्त गरेका छन् । यो कुरा नेपालका राजनीतिक पार्टीहरुले, नेपालको राजनीतिक नेतृत्वमा बसेकाहरुले, हामी सबैले बुझ्न सकेनौँ भने फेरि अर्को पहलकदमी अगाडि आउने स्थिति छ । फेरि हाम्रो अगाडि संघीय संसदको चुनाव पनि हुँदैछ । त्यसैगरी प्रदेशसभाहरुको पनि चुनाव हुँदैछ । त्यस अर्थमा पनि तपाईहरुले यो गर्ने अभ्यास त्यो चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रुपमा मात्रै होइन, सही, असल, इमान्दार उम्मेदवारलाई जिताउनका लागि तपाईंहरुको यो अभ्यासले कहीँ न कहीँ एउटा महत्वपूर्ण योगदान गर्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’
उनले भने, ‘अब सबैभन्दा डरलाग्दो कुरा त तपाईँहरुले पनि थाहा पाइराख्नु भएको छ । यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनिसाध्य छैन । असल, इमान्दार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ । तर, अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौ र विकृति र विसंगतिका विरुद्धमा अभियान चलाउन सक्यौ भने धेरै पैसा खर्च नगरीकन चुनाव जित्न सकिन्छ । धरानकै उदाहरण लिन सकिन्छ, काठमाडौंकै उदाहरण लिन सकिन्छ । अन्यत्रको पनि उदाहरण लिन सकिन्छ । मुख्य कुरा त के रहेछ भने पहलकदमी रहेछ । हामी त्यसमा पहलकदमी लिन तत्पर छौं कि छैंनौं ? हामी पहलकदमी लिने कुराको चाँही महत्व, त्यसको आत्मबोध गर्न सक्षम छौं कि छैनौं ? त्यो आत्मबोध गर्ने दिशातिर अघि बढन तपाईहरु लाग्नुहुनेछ ।’
सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।