श्रीलंका संकटः आक्रोशित भीडले प्रधानमन्त्री कार्यालयमा आगो लगाए, १३ जुलाईमा सत्ता हस्तान्तरण

कोलोम्बो । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जामा लिएपछि राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएका छन् ।

उनीहरुले आगामी १३ जुलाईका दिन शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

यसअघि शनिबारका दिन हजारौं प्रदर्शनकारी राष्ट्रपति निवास र साँझ प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । राष्ट्रपति निवासमा प्रवेशपछि राष्ट्रपतिले राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदर्शनकारी प्रधानमन्त्री निवास पुगी त्यहाँ आगजनी गरेका थिए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राजीनामाबारे जानकारी गराउँदै राजापाक्षेले नागरिकको सुरक्षालाई सुनिश्चित गर्न पदबाट राजीनामा दिन लागेको दाबी गरेका छन् । शनिबार भएको प्रदर्शनमा श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या पनि सहभागी भएका थिए ।

श्रीलंकाको राजनीतिमा परिवारवाद हावी भएर देश टाट पल्टिएको आरोप छ ।

राष्ट्रपतिको सरकारी आवासनजिकै जम्मा भएका प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गर्न थालेपछि राष्ट्रपति गोटाबाय राजापक्षेलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए ।  देशबाट कुनै पनि समयमा भाग्नुपर्ने अवस्थामा रहेका कारण उनी विमानस्थलमा रहेको बताइएको छ । अर्कातर्फ कोलम्बो बन्दरगाहमा देखिएका दुईवटा पानीजहाजमा राष्ट्रपतिले सामान लोड गर्दै गरेको देखिएको समाचार पनि आएका छन् । प्रदर्शनकारी राष्ट्रपति निवास बाहिर भेला हुन थालेपछि राजपाक्षलाई सुरक्षित रूपमा बाहिर निकालेर सेनाको एउटा युनिटले सुरक्षा दिइरहेको उच्च सुरक्षा अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएका छन् ।

प्रदर्शनकारीहरूको भिड रोक्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र हवाई फायरसमेत प्रयोग गरेका थिए । तर प्रदर्शनकारीहरू निरन्तर अघि बढेपछि सुरक्षाकर्मीहरू उनीहरूलाई रोक्न असफल भएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा प्रदर्शनकारीहरू राष्ट्रपति निवासवरिपरि घुमिरहेको, उनी बस्ने सुविधासम्पन्न कोठाहरूमा बसिरहेको र स्विमिङ पुलमा पौडी खेलिरहेको देख्न सकिन्छ ।

राष्ट्रपति निवासमा घुसेको प्रदर्शनकारीहरूको भिड दिउँसो प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

कमेन्ट गर्नुहोस्