नेपाल आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ, यस्तो छ कार्यक्रम

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् ।

चार दिने भ्रमणका क्रममा चाइना एयरको विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी आज आइतबार बिहान नेपाल आएका हुन्।

बुधबारसम्म नेपालमा रहँदा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्नेछन् । लिउले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भने आइतबार नै भेट्ने कार्यक्रम छ ।

यस्तै, उनको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

गत महिना मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख बनेपछि लिउले त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भिडियो वार्ता समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्