मन्त्री भुसाल र लिउले संयुक्त रुपमा शुरुगरे –‘स्माइलिङ चिल्ड्रेन’ परियोजना

काठमाडौं । ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गरेका छन् । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उनीहरूले सो परियोजनाको शुरुआत गरेका हुन् ।

त्यस अवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताए । उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन्। उनले भनिन्, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीन सहयोग आवश्यक छ ।” सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

शाताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।”

खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री भुलालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको उल्लेख गरिन्। चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन् । चीन नेपालको सुखदःुखको साथी रहेको बताउँदै मन्त्री भुसालले विसं २०७२ को भूकम्प र कोभिड महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन् ।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल चीनको असल छिमेकी भएको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। उनले भने, “महान मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।”

बालबालिकाहरू देशको भविषय भएको बताउँदै लिउले भने, “बालबालिका नेपाल–चीन मितेरीको भविष्य हो । बालबालिकाको खुशीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ बजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” उनले ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फन्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने विश्वास दिलाए।

कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ स्कूलमा लागू भएको र ५ लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो ।

कमेन्ट गर्नुहोस्