कांग्रेस सांसद मल्लविरुद्ध कमेन्ट गरेका कारण कार्यकर्ता छविलाल प्रहरी नियन्त्रणमा

स्याङ्जा । स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका –३ निवासी कांग्रेसका वडा सचिव छविलाल भट्टराई आफ्नै प्रदेश सांसद विरुद्ध सामाजिक संजालमा कमेन्ट गरेका कारण प्रहरी हिरासतमा पुगेका छन् । प्रदेश सरकारले पहिरो नियन्त्रणका लागि बजेट नछुट्टयाएको भन्दै उनले सामाजिक संजालमा कमेन्ट मार्फत असन्तुष्टि जनाएका थिए । त्यहि कमेन्ट र स्टाटसका कारण उनी प्रहरी हिरासतमा पुगेका हुन् ।

कांग्रेस कार्यकर्ता रमेश वस्यालले युवानेता माननीय भागवत प्रकाश मल्लको पहलमा विकास निर्माणका लागि बजेट छुट्टयाएको भन्दै गल्याङ नगरपालिकामा प्रदेश सरकारबाट विनियोजित रकम र विकास योजनाको शिर्षक सार्वजनिक गरेका थिए । रमेशले गरेको पोष्टमा आफुहरुले पहिरो नियन्त्रणकालागि मागेको अत्यावश्यक बजेट नपरेको भन्दै कांग्रेस कार्यकता छविलाल भट्टराईले प्रदेश सांसद मल्लप्रति व्यङ्ग्य र आक्रोश मिश्रित कमेन्ट गरेका थिए । कालो मोसोले सम्मान गर्ने आक्रोश कमेन्टमा उल्लेख छ । “हामीले पहिरो नियन्त्रणका लागि बजेट मागेकोमा आवश्यक भन्दा धेरै बजेट हाल्देको हुँदा मा. ज्यूलाई लल्याङमा आयो भने कालो मोसो लगाएर लखेट्ने ” भन्दै उनले कमेन्ट गरेका छन् ।तर अहिले उक्त कमेन्ट मेटिएको छ ।

सांसद मल्लविरुद्ध स्टाटस र कमेन्ट लेखेकै आधारमा कांग्रेस कार्यकर्ता छविलाल भट्टराईलाई गिरफ्तार गरिएको भन्दै सामाजिक संजालमा विरोध भएको छ ।यस घटनाको कांग्रेस कै केहि नेताहरुले विरोध गरेका छन् । कांग्रेस गल्याङ्गका एक नेताले भने–“स्याङ्जा जिल्लाका सिडियो राजु प्रसाद पौडेल र सांसद भागवत प्रकाश मल्ल निकै घनिष्ट मित्र हुन् । सांसद मल्लविरुद्ध सामान्य कमेन्ट कै आधारमा छविलाललाई नियन्त्रणमा लिनु सत्ता र शक्तिको दुरुपयोग हो ।”

प्रजातन्त्र र सामाजिक न्यायकालागि संर्घष गरेको पार्टी कांग्रेसमा कमेन्ट गरेकै आधारमा प्रहरी प्रशासन लगाएर प्रतिशोध साध्नु गलत भएको उनीहरुको भनाइ छ ।तर  कांग्रेस कै केहि स्थानीय नेताहरु भागवत मल्ल समर्थकले भने माननिय जस्तो मान्छेलाई गिरेर कमेन्ट गर्नु गलत भएको बताउँछन् ।यस घटनाले वाक स्वतन्त्रताको धज्जी उडाएको भन्दै विरोध भैरहेको बेला कांग्रेस भित्र भने दुई प्रकारको धारणा देखिएको हो ।

कमेन्ट गर्नुहोस्