मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवा समस्याको दिगो रुपमा समाधान गर्न प्रतिबद्ध छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएकी छन् ।

मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडी बढ्ने तयारी भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल शुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडी बढाइएको बताइन्।

हलीया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निशेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवा चरवाको समस्या समाधान गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन्।

उनले आगामी वर्षको नीति तथा कार्यक्रम र वजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताइन् ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय, मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्