देश छाडेर भाग्न खोजेका श्रीलंकाका राष्ट्रपतिलाई विमानस्थलबाटै फकाईयो

एजेन्सी । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले गएराति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ ।

तर, विमानस्थलका कर्मचारीले रोकेपछि उहाँ अपमानजनक रुपमा फर्किन बाध्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

आर्थिक संकटबाट गुज्रेको श्रीलंकामा महिनौँको विशाल प्रदर्शनपछि राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई भाग्न खोजेका थिए । तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न नदिएपछि उहाँ पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किनु भएको थियो ।

अधिकारीका अनुसार राजापाक्षे अझै पनि नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने तयारीमा हुनुहुन्छ । राष्ट्रपति पदमा कायम रहँदासम्म राजापाक्षेलाई गिरफ्तारीबाट उन्मुक्ति प्राप्त छ ।

त्यसैले पदत्याग गर्नुअघि नै उहाँ विदेश जान चाहेको बताइएको छ । राजपाक्षेमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप छ । युद्धअपराधको आरोप पनि उहाँलाई लागेको छ ।

राजापाक्षे परिवारका सदस्यले देश छाडेर भाग्ने प्रयास गरेको खुलासापछि बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन आज सर्वोच्च अदालतमा निवेदन परेको छ ।

कमेन्ट गर्नुहोस्