कांग्रेसले सिपिसी विदेश विभाग प्रमुख लिउसँग ७ वटा बुँदामा राख्यो पार्टीका धारणा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियानचाओ तथा नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच भेटवार्तामा कांग्रेसले पार्टीका धारणा स्पष्ट पारेको छ ।

नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उक्त भेटवार्तामा नेपाल तथा चीनबीच सुमुधुर सम्बन्ध विकास हुनुपर्नेमा कांग्रेसले जोड दिएको थियो ।

नेपाली कांग्रेसले जनाए अनुसार, भेटका अवसरमा नेपाली कांग्रेसले निम्न ७ वटा बुँदामा आफ्ना धारणा समेटेको थियो ।

१। नेपाली कांग्रेस, नेपाल(चीनबीचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल(चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याएका योगदानप्रति गौरव र स्मरण गर्छ।

२। नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरूद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ।

३। नेपाल कांग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबीच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस् भन्ने अपेक्षा पनि गर्छ। तर शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ।

४। नेपाली कांग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तर परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्छ। नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहयता लिनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो। नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ, त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक छ।

५। यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकाले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्छ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको द बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआइ० परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्छ। साथै चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ।

६। नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पूरानो, र परिपक्व राजनीतिक शक्ति हो। अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन। नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ। नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्र राष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिनेछ।

साथै निकटतम छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाइ नेपाली कांग्रेसको हो।

७। चीनको, नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैं समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्ने अपेक्षा र विश्वास राख्छ।

कमेन्ट गर्नुहोस्