६ वटा महानगरमध्ये विराटनगरमा सबैभन्दा बढी बेरुजु, भरतपुरमा सबैभन्दा कम

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले ६ वटा महानगरपालिकामध्ये विराटनगरमा बढी र भरतपुरमा कम बेरुजु रहेको औंल्याएको छ ।महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को ५९ औं प्रतिवेदनमा यस्तो स्थिति औल्याएको हो । कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा विराटनगरमा कुल लेखापरीक्षण गरिएको रकमको तुलनामा १६ दशमलव ५७ प्रतिशत र भरतपुर ० दशमलव ५६ प्रतिशत बेरुजु औंल्याएको छ । त्यस्तै, लेखापरीक्षण भएको रकमको तुलनामा वीरगञ्जको ९ दशमलव ८ प्रतिशत, ललितपुरको ८ दशमलब ६ प्रतिशत, काठमाडौंको ५ दशमलव ४ प्रतिशत र पोखराको ५ दशमलव ३५ प्रतिशत बेरुजु देखिएको छ । कार्यालयले ७ सय ५३ मध्ये ७ सय ४४ स्थानीय तहको लेखापरीक्षण गरेको थियो । कूल ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाख रुपियाँको लेखापर ४४ अर्ब २४ करोड २३ लाख रूपैयाँ बेरुजु देखिएको प्रारम्भिक प्रतिवेदनपछि ३ अर्ब ४ करोड ३३ लाख फस्र्यौट गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसमा १९ स्थानीय तहले ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च ६१ लाख ७७ हजार रुपियाँ,२२ स्थानीय तहले पोशाक सुविधा वापत ६९ लाख ४९ हजार रुपियाँ र ऐनमा उल्लेख गरेभन्दा फरक हुने गरी २ सय १ स्थानीय तहले यातायात तथा अनुगमन सुविधा लगायतमा ९ करोड ९८ लाख ७८ हजार रुपियाँ भुक्तानी दिएका छन् । प्रतिवेदनमा यी बेरुजुको असुलउपर गर्नुपर्ने भनिएको छ । कानुनमा व्यवस्था नभएको र कानूनले तोकेभन्दा बढी हुने गरी १ सय ५५ स्थानीय तहले ३ करोड ९२ लाख ७२ हजार रुपियाँ बैठक भत्तामा खर्च गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्