गठबन्धनको समर्थनमा उपसभामुख बनिन् पुष्पा भुसाल

काठमाडौं । कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएकी छन् । आज भएको प्रतिनिधि सभा उपसभामुखमा उनी निर्वाचित भएकी हुन् ।

आज भएको निर्वाचनमा २४२ जना सांसदले संसदमा उपस्थित भएर निर्वाचन प्रक्रियामा भाग लिएका थिए ।

जसमा काग्रेस सांसद पुष्पा भुसालको पक्षमा १४८ जना सांसद रहे भने एमाले सांसद विद्या भट्टराईको पक्षमा ९३ जना सांसद मात्रै रहे ।

नेमोकिपाका सांसद प्रेम सुवालले भने मतदान प्रक्रियामा मत दिन्न भनेका थिए ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम–लोकतान्त्रिक गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ ।

कांग्रेसको सचेतक रहेर संसदीय गतिविधिमा संलग्न रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका बुबा काशीनाथ गौतम राजनीतिमा सक्रिय थिए । पञ्चायतविरुद्ध कांग्रेसमा रहेर राजनीति गर्ने काशीनाथ सपरिवार १४ वर्ष भारतमा निर्वासित हुँदा पुष्पा पनि साथमै थिइन् । काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री थिए ।

राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् ।

कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् ।

भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक(पटक राज्यद्वारा गिरफ्तारमा परेकी थिइन्। उनले विगतमा नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य रहेर पनि काम गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्