आर्थिक अनुशासनहीनतामा रेर्कड : बेरुजुमा स्याङ्जाकै प्रथम बन्यो गल्याङ्ग नगरपालिका

गल्याङ्ग । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार स्याङ्जाका एघारवटा स्थानीय तहको २६ करोडभन्दा बढी बजेट बेरुजु देखिएको छ । बेमनासिब तरिकाले आर्थिक कारोबार गरेर स्याङ्जामा गल्याङ्ग नगरपालिकाले सबैभन्दा धेरै बेरुजु निकालेको छ । आर्थिक अनुशासनहीनतामा गल्याङ्ग नगरपालिका जिल्लामै प्रथम बनेको हो ।

जिल्लाका एघार स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा २६ करोड ४ लाख १७ हजार बजेट अनियमित तवरले खर्च गरेको पाइएको हो । एघार स्थानीय तहको रु १४ अर्ब ७ करोड ९२ लाख ५७ हजारको महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण गर्दा १.८५ प्रतिशत बेरुजु देखिएको छ ।

रकमको आधारमा नगरपालिकामा सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिकामा देखिएको छ भने सबैभन्दा कम भीरकोट नगरपालिकामा देखिएको छ ।

गल्याङ नगरपालिकामा रु एक अर्ब ७९ करोड १४ लाख ६३ हजारको लेखापरीक्षण गर्दा रु पाँच करोड ४१ लाख २८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

चापाकोट नगरपालिकामा रु एक अर्ब ३५ करोड ५९ लाख ६५ हजारको लेखापरीक्षण गर्दा रु तीन करोड ५१ लाख ५२ हजार बेरुजु देखिएको छ ।

त्यसैगरी पुतलीबजार नगरपालिकामा दुई अर्ब ३ करोड ९१ लाख १३ हजारको लेखापरीक्षण गर्दा ४ करोड ७१ लाख ५८ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भीरकोट नगरपालिकामा एक अर्ब १८ करोड २३ लाख ४७ हजारको लेखापरीक्षण गर्दा १ करोड ३२ लाख ३६ हजार बेरुजु देखिएको छ ।
वालिङ नगरपालिकामा एक अर्ब ९७ करोड ११ लाख ५३ हजारको लेखापरीक्षण गर्दा २ करोड ३९ लाख ७१ हजार बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु फेदीखोला गाउँपालिकामा देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा देखिएको छ ।

अर्जुन चौपारी गाउँपालिकामा ७७ करोड ७६ लाख ५४ हजारको लेखापरीक्षण गर्दा १ करोड ७६ लाख ५ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी आँधीखोला गाउँपालिकामा एक अर्ब ५ करोड ८७ लाख ५२ हजारको लेखापरीक्षण गर्दा एक करोड ३२ लाख ५५ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कालीगण्डकी गाउँपालिकामा १ अर्ब १७ करोड ७४ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ५३ लाख १५ हजार बेरुजु देखिएको छ ।
त्यसैगरी फेदीखोला गाउँपालिकामा ९१ करोड २५ लाख २५ हजारको लेखापरीक्षण गर्दा दुई करोड २३ लाख ९१ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विरुवा गाउँपालिकामा ९७ करोड ९१ लाख ३० हजारको लेखापरीक्षण गर्दा दुई करोड १९ लाख २ हजार बेरुजु देखिएको छ ।

हरिनास गाउँपालिकामा ८३ करोड ३६ लाख ५७ हजारको लेखापरीक्षण गर्दा ६३ लाख ४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।
बेरुजु प्रतिशतको आधारमा जिल्लाको सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिकामा ३।०२ प्रतिशत देखिएको छ भने सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ०।४५ प्रतिशत देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको जिल्लाका नगरपालिकाहरुमध्ये २०७६/७७ को ९५८ औँ को भन्दा २०७७/७८ को ९५९ औँ प्रतिवेदनमा चापाकोट नगरपालिकामा मात्रै बेरुजु बढेको देखिएको छ भने गल्याङ, पुतलीबजार, भीरकोट र वालिङ नगरपालिकामा घटेको देखिएको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी बेरुजु गल्याङ नगरपालिका देखिएको छ भने दोस्रोमा चापाकोट नगरपालिका परेको छ ।

त्यसैगरी गाउँपालिकाहरुमध्ये २०७६/७७ को (५८ औँ) को भन्दा २०७७/७८ को (५९ औँ) प्रतिवेदनमा आधिँखोला र फेदीखोला गाउँपालिकामा बेरुजु बढेको छ भने अर्जुन चौपारी, कालीगण्डकी, विरुवा र हरिनास गाउँपालिकामा घटेको देखिएको छ ।

स्थानीय तहले पूर्वतयारी विनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बेरुजुलाई कसरी बुझ्ने 

सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो , जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिइन्छ । यो प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुयाई कारोबार गरेको , राख्नु पर्ने लेखा नराखेको , बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो , जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औल्याएको हुन्छ ।

कमेन्ट गर्नुहोस्