भारत–नेपाल सम्बन्ध विशिष्ट छ , केही सन्धिका अस्पष्टता समझदारीमा समाधान गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतसँगको सम्बन्ध परापूर्वकालदेखि रहेकोले यो विशिष्ट रहेको बताएका छन्।

दिल्लीस्थित सुष्मा स्वराज स्मृति भवनमा ‘फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलेसी’ नामक संस्थाले आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त विचार राखेका हुन्।

त्यहाँस्थित (भाजपा) सत्तारुढ दलका अध्यक्षको निम्तामा दिल्ली उत्रेका प्रचण्डले नेपाल–भारत सम्बन्ध जनस्तरमा रहेकोले यो कहिले नटुट्ने पनि बताएका छन्।

‘नेपाल–भारतको सम्बन्ध परापूर्वसमयदेखि रहेको छ। यो सम्बन्ध ऐतिहासिक रुपमा सामाजिक, सांस्कृतिक र जनस्तरमा रहेको छ’, प्रचण्डले भने, ‘हामी जमिन, भाषा, साहित्य, धर्म र नदिले जोडिएका छौं।’

त्यस्तै, प्रचण्डले नेपालले छिमेकी मुलुकका विरुद्ध आफ्नो देश प्रयोग हुन नदिने पनि बताएका छन्। ‘नेपाल र भारत एकअर्काको चासो र हितमा प्रतिबद्ध रहेका छौं। नेपाल आफ्नो भूमि छिमेकीको विरूद्ध प्रयोग हुन दिनेछैन र भारतबाट पनि त्यही प्रतिवद्धता चाहन्छ’, उनले भने, ‘जनस्तरबीच रहेको सम्बन्ध, खुल्ला सिमाना र अपार सद्‌भावना लगायतका विषयले नेपाल भारतको विशिष्ट सम्बन्ध रहेको छ।’

पछिल्लो समय नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई देशको सम्बन्ध विशिष्ट तहमा पुगेको बताए। ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणले हाम्रो सम्बन्ध अझै विशिष्टकृत तहमा पुगेको छ’, प्रचण्डले थपे।

प्रचण्डले व्यापार र विकासका लागि भारत महत्त्वपूर्ण साझेदार मुलुक रहेकोले भारतले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद पनि दिए। ‘नेपालका लगि भारत महत्त्वपूर्ण साझेदार मुलुक हो। कोभिडको बेला भारतले गरेको स्वास्थ्य सहयोगप्रति धन्यवाद दिन्छु। त्यस्तै, भूकम्पका बेला र भूकम्पपछिको पुनर्निमार्णका बेला गरेको सहयोगप्रति आभार प्रकट गर्दछु’, प्रचण्डले भने, ‘विकास र समृद्धका लागि, कृषि, पूर्वधार, रेल्वे सेवामा भारतले गरेको सहयोग अतुलिनिय छ। भरतबाट आगामी दिनमा पनि यो सहयोग र प्रतिबद्धताको निरन्तरता चाहान्छौं।’

त्यस्तै, जलविद्युतमा भारतसँग थप काम गर्न चाहेको प्रचण्डले बताएका छन्। ‘जलविद्युतको क्षेत्रमा पनि भारतसँग काम गर्न चाहान्छौं। भारतसँग विद्युत व्यापार गर्न चाहान्छौं र त्यसको सुरुवात पनि गरिसकेका छौं’, उनले भने, ‘साथै यो क्षेत्रमा भारतको नीजि क्षेत्रलाई लगानीका लागि आग्रह गर्दछु।’

प्रचण्डले १९५० लगायतका सन्धिले दुई देशबीचको सम्बन्धमा केही अस्पष्टता रहेकोले त्यस्ता विषयलाई आपसी समझदारीले समाधान खोजिनुपर्ने बताएका छन्। तीनदिने भ्रमणमा शुक्रबार दिल्ली पुगेका प्रचण्ड आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

कमेन्ट गर्नुहोस्