मुलुकलाई संकटबाट जोगाउन वामपन्थी मिल्न आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरूलाई चुनावी तालमेल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मुलुकलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरू तालमेल गरेर अघि बढ्नुपर्ने उनले तर्क गरे ।

शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थीले एकार्कालाई सिध्याउने काम भए मुलुक नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले सबै वामपन्थी नेताहरूले कमी–कमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । नेता श्रेष्ठले आफैँ सिद्धिने बाटोबाट बच्न पनि वामपन्थी शक्तिहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले तत्काल पार्टी एकताका लागि आधार नबने पनि वामपन्थी दलहरूबीच तालमेल गरेर जान सकिने पटक–पटक दोहोर्‍याए ।

“वामपन्थीहरूको एकता आवश्यक छ । कमसेकम तालमेल, मोर्चा र त्यसपछि अर्को दिशातर्फ जानुपर्ने आवश्यकता छ । तर, त्यसको निम्ति आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ, अरू नेताहरू बाहिर हुनुहुन्छ । म सबैसँग विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु– तुम शेर तो, हम सवाशेर छोडिदिऊँ,” उनले भने, “घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ । कतिपय पछाडि गरौँला । जो अहिल्यै गर्नैपर्नेछ । कमी–कमजोरी भए आत्मालोचना गरौँ । म त आत्मालोचना गर्छु पार्टी एकता जोगाउन सकिनँ भनेर । सबै मिलौँ । प्रतिनिधिसभा विघटनमा के भयो, एमसीसीमा के भएको थियो, १९ बुँदे आरोपपत्रमा के भएको थियो ? पार्टी एकताका लागि तत्काल आधार नबन्ला । तर, तालमेल गरेर अघि बढ्न सकिन्छ ।”

नेता श्रेष्ठले नेपालको परराष्ट्र नीतिलाई स्वतन्त्र बनाइराख्न दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्