वडा जिताउन नसकेको भन्दै कांग्रेस बैठकमा राठौर र दहितबीच घोचपेच, देउवाले सम्झाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री किशोरसिंह राठौर र सदस्य गोपाल दहितबीच घोचपेच भएको छ ।

दहितले अघिल्लो बैठकमा राठौरले पार्टीलाई उनकै वडामा पनि जिताउन नसकेको भन्दै आलोचना गरेका थिए । उनले आफूले वडामा कांग्रेसलाई जिताए पनि राठौरले जिताउन नसकेको भन्दै व्यंग्य गरेका थिए ।

सानेपामा जारी बैठकमा शनिबार राठौरले दहितलाई जवाफ फर्काए । “१० वटा पार्टी चहार्दै आएको मान्छेले मेरो डिग्नेटीमाथि प्रश्न उठाउने रु मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन । पार्टी फेर्दै हिँड्नेले मेरो बारेमा प्रश्न उठाउने रु,” राठौरले भने ।

त्यसपछि सभापति शेरबहादुर देउवाले राठौरलाई सम्झाएका थिए । “तपाईं पदाधिकारी हो, केन्द्रीय सदस्यलाई त्यसो भन्न हुँदैन,” बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक सदस्यले भने ।

राठौर र दहित दुवै बर्दियाका हुन् । उनीहरूको निर्वाचन क्षेत्र पनि एउटै हो ।

कमेन्ट गर्नुहोस्