सभामुख सापकोटा र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको थियो । सभामुख सापकोटाले लामो अनुभव र महत्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं बर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं बर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे। उनले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे।

सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुवात गरेको बताए। दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाई थियो ।

भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।

उनले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुबै देशले साझा समझदारी बनाउँदा राम्रो हुने धारणा राखे। ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको बताउँदै दुबै देशका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने धारणा राखे ।

सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गर्न चाहेको बताए ।

सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे।

लामो र ऐतिहासिक सम्बन्ध रहेको दुबै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखे। जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रुपमा समाधान खोज्नु पर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्