मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।

उनले मुक्त कमैया, हरुवा, चरुवा, हलिया, भूमिहीन सुकुमबासीको पहिचान गरी बसोवासका लागि घरघडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर आवश्यक कदम चाल्न पनि मन्त्रालयलाई निर्देशन दिए। उनले कुप्रचारको निर्मुल गर्न जरुरी भएकाले आवश्यक कामकारबाहीका लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए।

‘संवैधानिक एवं कानुनी योगदानका व्यवस्थालाई समेत ध्यानमा राखी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनले समस्या उजागर गर्दै समाधानका उपायहरूसमेत ल्याएको छ। यी सुझावहरूलाई ध्यानमा राखेर अघि बढ्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन्छु,’ प्रधानमन्त्री देउवाले भने।

कमेन्ट गर्नुहोस्