लालपुर्जा बाँडन हिँडेकी मन्त्रीमाथि ‘सुनियोजित’ दुर्व्यवहार, स्थानीय प्रशासन मूकदर्शक

गोकर्ण भट्ट/एभरेष्टदैनिक। शनिवार बिहान करिब साढे ९ बजे । भूमिव्यवस्था तथा सहकारी मन्त्रीको गाडी धरानको भानुचोक पुग्यो ।

गाडीको अगाडि प्रहरीको स्कर्टिंग भ्यान थियो भने मन्त्री उक्त गाडीको पछाडि थिइन ।

भानुचोकमा दुईजना व्यक्तिले हात दिएर गाडी रोक्न लगाए ।

सामान्य परिस्थितिमा भिआईपी सवार गाडी कसैले रोक्न खोजे अगाडिको स्र्किंटग भ्यानले भिआइपीको आदेश नपाइकन गाडी रोक्दैनन् । त्यस्तै अवरोध सिर्जना भएको खण्डमा समेत स्कर्टिंगले रुट क्लियर गर्नुपर्ने हुन्छ ।

तर त्यहाँ त्यस्तो भएन ।

दुईजना व्यक्तिले गाडी रोक्न हात हल्लाउने बित्तिकै प्रहरीले अचानक गाडी रोक्यो ।

अकस्मात गाडी रोकेपछि मन्त्री श्रेष्ठले पिएसओलाई सोधिन् अचानक गाडी किन रोकियो ।

तर पिएसओसँग समेत जवाफ थिएन ।

मन्त्रीको गाडी चोकैमा रोकिएकपछि एक एक गर्दै मानिस जम्मा हुन पुगे ।

प्रहरीले त्यतिबेलासम्म पनि रुट क्लियर गर्न खोजेन ।

अचम्म त त्यतिखेर भयो, रुट क्लियर गर्नुपर्ने स्थानीय ट्राफिकले मन्त्रीको गाडी नै साइड लगाउन आदेश दियो ।

जबकि सुरक्षा निकाले अति प्रतिकूल परिस्थितिको समेत आँकलन गरेर सकेसम्म रुट क्लियर गर्ने वातावरण बनाउनु पर्ने हुन्थ्यो ।

स्थानीयहरु जम्मा हुँदै गएपछि कसैले चर्कोस्वरमा शनिवारका दिन गाडी चलाएको भन्दै आलोचना शुरु गरे ।

स्थानीयवासीलाई मन्त्रीहरुले सरकारी गाडीको दुरुपयोग गर्दै शनिवार समेत व्यक्तिगत काममा जान खोजेको भ्रम परेको थियो ।

यता गाडीभित्र रहेकी मन्त्री श्रेष्ठलाई भने के भइरहेको थाहा थिएन । उनी गाडीबाट बाहिर निस्किन खोजिन, तर सुरक्षा कारण देखाउँदै उनको नीजि सुरक्षाकर्मीले उनलाई बाहिर जान दिएन ।

“बाहिरको खास कुरा बुझिएको थिएन । तर उनीहरुले मन्त्रीसँगै कुरा गर्छौं भन्नेजस्तो सुनेपछि म बाहिर निस्के । पिएसओले त मानेको थिएन । तर म उनीहरुसँग कुरा गर्न बाहिर निस्किएँ ।” मन्त्री श्रेष्ठले घटना सम्झिँदै भनिन् ।

खासमा धरानमा शनिवारका दिन सरकारी गाडी निषेध अभियान सञ्चालन गरिएको रहेछ । त्यही भएर आन्दोलनकारी भन्ने उक्त समूहले मन्त्रीको गाडी देख्नेवित्तिकै त्यहाँ होहल्ला शुरु गरेका रहेछन् ।

“सोझोरुपमा हेर्दा उनीहरुका कुरा पनि जायज नै थिए ।” मन्त्री श्रेष्ठले भनिन्, “तर उनीहरुले भनेजस्तै अवस्था पनि थिएन । मन्त्रीहरु सरकारी कर्मचारीजस्तो शनिवार घरमा बसेर हुँदैन । मन त कसलाई हुन्न र परिवारसँग विदा मनाउन ?”

मन्त्री श्रेष्ठ भने स्वास्थ्य अवस्थाले साथ नदिएपनि धनकुटाको डाँडा बजारमा गाउँब्लकको जग्गाको पुर्जा वितरण गर्ने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी थिइन । मन्त्रालयले सञ्चालन गरेको लालपुर्जा वितरणको अभियान अन्तर्गत त्यहाँ लालपुर्जा वितरण गर्ने पूर्व निर्धारित कार्यक्रमका थियाे । स्थानीयले बुझेजस्तो उनी विदा मनाउन या नीजि कामका लागि त्यहाँ पुगेकी पक्कै थिइनन् ।

त्यसैपनि २०२१ सालदेखि नै गाउँब्लकको नाममा सयौं नेपालीले जग्गाको स्वामित्व पाउन सकेका छैनन् । पुस्तौंदेखि भोगचलन गर्दै आएपनि जग्गाको स्वामित्व नहुँदा मर्कामा परेका किसानहरुलाई जग्गा धनी बनाउने अभियान नै घोषणा गरेकी थिइन मन्त्री श्रेष्ठले । त्यही अनुरुप गाउँब्लकमा रहेका जग्गाको धनीपुर्जा दिने अभियानमा उनी धनकुटा पुग्ने योजना थियो ।

बाहिर होहल्ला चर्किँदै गएपछि मन्त्री श्रेष्ठ पिएसओको कुरा नमानी बाहिर निस्केकी थिइन । ‘म जनताको प्रतिनिधि, जनताले केही कुरामा बिरोध गरेका छन् भने मैले उनीहरुसँग कुरा गर्नुपर्छ, उनीहरुको कुरा सुन्नुपर्छ भनेर म पिएसओले नाई भन्दा पनि बाहिर निस्केँ ।” मन्त्री श्रेष्ठले भनिन्, “उनीहरुका कुरा सुनेपछि त्यहाँ के भइरहेको रहेछ भन्ने थाहा भयो ।

“मैले उनीहरुलाई सम्बोधन गर्दै उनीहरुको सोचाई सही भएपनि अवस्था के हो भनेर कुरा गरेँ ।” मन्त्री श्रेष्ठले अगाडि भनिन्, “खासमा फिजुल खर्च नियन्त्रणका लागि मैले लगातार सदन र सार्वजनिकरुपमा पनि बोल्दै आएकी हुँ । अझ सरकारी गाडीहरु मितव्ययी ढंगले चलाउनुपर्छ भन्ने अभियानकर्ता म पनि हुँ । तर त्यहाँ उनीहरुले सोझोरुपमा मात्र कुरा बुझेका रहेछन् ।”

सरकारी मन्त्रीहरु व्यक्तिगत कामका लागि सरकारी श्रोत साधनको प्रयोग गर्न हुन्ने मान्यता राख्दै आएकी छिन् मन्त्री श्रेष्ठ । सरकाका सचिव, सहसचिव, उपसचिवलाई बेग्लै सवारी साधन उपलब्ध गराउनुको साटो एउटै सवारी साधन दुईतीनजनाले उपयोग गर्ने परिपाटी विकास गर्न उनले आवाज समेत उठाइन ।
तर उनी मन्त्री भने अप्ठ्यारो परिस्थितिमा परेकी थिइन ।

मन्त्री श्रेष्ठका अनुसार, स्थानीयसँग कार्यक्रमका उद्देश्यलगायतका विषयमा कुराकानी भएपछि उनीहरुले कुरा नबुझेर गाडी रोखेको भन्दै रुट क्लियर गरेका थिए ।

“उनीहरुको नियत सही थियो । उनीहरुले कुरा बुझे । त्यसपछि बाटो खाली गर्न लगाए ।” मन्त्रीले भनिन्, “मैले यो कुरालाई सहजरुपमा लिएँ । यसमा चित्त दुखाउनुपर्ने थिएन ।”

तर प्रश्न भने स्थानीय प्रशासन र ट्राफिक प्रहरीमाथि उठेको थियो ।

जाम खोल्न र मन्त्रीलाई सुरक्षित त्यहाँबाट निस्किन त्यहाँको ट्राफिक र स्कर्टिंगमा हिँडेको प्रहरीले पहल गरेनन् ।

प्रश्न उठ्छ, यदि नियोजितरुपमा भीड जम्मा भएर मन्त्रीमाथि सांघातिक हमला भएको भए ?

सरकारी गाडीको बहानामा मन्त्री गाडीभित्रै रहेको बेला कसैले आगजनी गरेको भए ?

यदि भीड अराजक भएको भए र उनीहरुको उद्देश्य नै मन्त्रीमाथि आक्रमण गर्ने भएको भए ?
प्रहरीमाथि कैयन प्रश्न तेर्सिनु स्वभाविकै थियो ।

“गाडी रोक्न खोज्ने उनीहरुको नियत सफा थियो । को मन्त्री, कहाँबाट र किन भन्ने कुरा थाहा नपाई उनीहरुले सोझोरुपमा गाडी रोकेका थिए । तर यदि त्यसको ठाउँमा नियोजितरुपमा नै घटना घटाउन खोज्ने समूह भएको भए ?” मन्त्रीका प्रमुख स्वकीय सचिव अशोक महर्जन प्रश्न गर्छन्, “त्यसो भएको भए र मन्त्रीमाथि केही तलमाथि भएको भए कसले जवाफ दिन्थ्यो ? को जिम्मेवार हुन्थ्यो ?”

मन्त्री लालपुर्जा बाँडन हिँडेको थाहा पाएपछि स्थानीयले बाटो खोले । मन्त्रीको गाडी अघि बढ्यो ।

“सुरुमा सामान्य नै ठानियो । तर अलि माथि गएपछि घटनालाई अतिरञ्जित गर्न थालिएछ । मन्त्रीको गाडी कब्जामा, मन्त्रीलाई यस्तो उस्तो भन्ने किसिमले प्रचार सुरु भएछ । त्यसपछि मेरो मनमा यो कतै नियोजत त होइन भन्ने चिसो पर्यो ।” मन्त्री श्रेष्ठले भनिन् ।

र, उनको यो सोँचका पछाडि केही बस्तुगत आधार समेत नभएका होइनन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मन्त्री बुद्ध एयरलाइन्सको जहाजबाट बेलुकी ७ बजे काठमाडौंबाट बिराटनगर जाने र भोलीपल्ट बिहान ८ बजे बिराटनगरबाट धरान हुँदै धनकुटाको डाँडाबजार पुग्ने कार्यक्रमका जानकारी प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई दिएको थियो । यसको बोधार्थ गृहमन्त्रालयको सुरक्षा शाखा तथा सुरक्षा सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालयलाई ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरिदिन हुन’ भन्ने उल्लेख गर्दै दिएको थियो ।

सामान्यतः यसरी मन्त्रालयले मन्त्रीको कार्यक्रमको सूचना दिएपछि सम्बन्धित जिल्लाको प्रशासन र सुरक्षाकर्मीलाई त्यो सूचना समयमा नै पुग्ने गर्दछ । त्यही आधारमा जिल्ला या इलाका अनुसार प्रहरीले स्कर्टिंग गर्ने र स्थानीय प्रशासनले आवश्यक सुरक्षा र व्यवस्थापन गर्ने गर्दछ ।

तर मन्त्री श्रेष्ठको सुरक्षा व्यवस्थामा किन यसरी लापरवाही गरियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । सुनसरीका जिल्ल प्रमुख अधिकारी इन्द्रदेव यादवसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । जिल्लाका एसपी सञ्जय थापाले भने कुरा गर्न मानेनन् ।

धरान क्षेत्रका डिएसपी बुद्धि श्रेष्ठले भने सुरक्षामा कमजोरी भएको स्वीकार गरे । परिस्थितिलाई बुझ्न नसक्दा इन्सपेक्टरको कमाण्डमा रहेको स्कर्टिङ टोलीले सही निर्णय गर्न नसकेको उनको भनाई थियो ।

संयोग के परेको थियो भने त्यही दिन पूर्व सभामुख सुभास नेम्वाङको समेत सोही रुटमा सवारी थियो । “मैले सुभास सरको स्कर्टिङको कमाण्ड लिएको थिएँ ।” श्रेष्ठले एभरेष्टदैनिकसँग भने, “मन्त्रीजीका लागि एकजना महिला इन्सपेक्टरको नेतृत्वमा स्कर्टिङको व्यवस्था गरिएको हो । तर उनीहरुले कमजोरी गरे । यसको जिम्मा हामीले लिनुपर्छ । हामीबाट गल्ती भएको हो ।”

डिएसपी श्रेष्ठका अनुसारमा कमाण्ड गर्ने इन्सपेक्टरले घटनालाई गम्भीरतापूर्वक लिन नसक्दा समस्या सिर्जना भएको हो । ‘यस्तो गल्ती फेरी दोहोरिन्न, सम्बन्धित व्यक्तिहरुलाई सचेत तुल्याएको छौं ।’

कमेन्ट गर्नुहोस्