युरोपको आधा भू–भाग खडेरीको जोखिममा,तातो हावाको लहरले जनजीवन कष्टकर

काठमाडौं । युरोपेली सङ्घ (ईयू)को आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीले पानीको अभाव हुन थालेको छ। त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाव इटलीमा रहेको उल्लेख छ । स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ ।

स्पेनमा ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिंदा फ्रान्सको तापक्रम ४२ डिग्री पुगेको हो। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् । फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस आफनो थातथलो छोडेर भागेका छन् ।

फ्रान्सको पर्यटकिय गिरोन्डे क्षेत्रमा रहेका पर्यटकहरु गर्मीको मारमा परेका छन् । गिरोन्डे आसपासको जंगलमा लागेको डढेलोको ताप शहर सम्म पुग्दा जनजीवन प्रभावित भएको हो । गर्मीकै कारण बेलायतमा रेलवे सेवा बन्द गरिएको छ । लण्डनको लुटन विमानस्थलको धावनमार्ग तातेको कारण केही उडानहरु रद्द गरिएका छन् । उता नेदरल्याण्ड्समा पनि अहिलेसम्मकै सबैभन्दा गर्मी महसुस गरिएको छ ।

त्यहाँको तापक्रम ३३ दशमलव ६ डिग्री पुगेको छ । आगामी दिनमा ३९ डिग्रीसम्म तापमान पुग्ने मौसम विदहरुले बताएका छन् । यी बाहेक बेल्जियम, जर्मनी, र इटलीम पनि तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ ।

मौसम कार्यालयका अनुसार राजधानी लन्डनको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको हो । बेलायतमा चेतावनीसहित राष्ट्रिय सङ्कट घोषणा गरिएको छ । जनजीवन थप कष्टकर बनेको बीबीसीले जनाएको छ ।

सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित देशले प्रतिबद्धता जनाए पनि समस्या बढ्दो छ । जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने क्रम रहेकाले यो विषयलाई गम्भीर रुपमा लिनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्