श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने

एजेन्सी । श्रीलंकाको राष्ट्रपतिका लागि तीन जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।

कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले बुधबार हुने मतदानमा विपक्षी समर्थित उम्मेदवार दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीकी नेता अनुरा कुमारा दिसानायकेसँग प्रतिष्पर्धा गर्ने भएका छन् ।

मंगलबार बसेको संसदको संक्षिप्त बैठकले अन्तिम उम्मेद्वारको घोषणा गरेको हो । विक्रमासिंघेको नाम संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवद्र्धनेले प्रस्ताव गरेका थिए ।

नेशनल पिपुल्स पावर पार्टीका वामपन्थी नेता दिसानायके तेस्रो उम्मेदवार हुन् । पार्टीको संसदमा तीन जना मात्रै सदस्य रहेकाले उनी प्रतिद्वन्द्वी बन्ने सम्भावना कम छ ।

विक्रमासिंघे सत्तारुढ एसएलपीपीका अधिकांश विधायकहरूले उनलाई साथ दिएकाले दौडमा अगाडि रहेको विश्लेषकहरूको भनाइ छ ।

यसअघि विपक्षीले आफ्नो उम्मेदवारको रूपमा समर्थन गरेका र सम्भवतः अग्रपंक्तिमा रहेका सजिथ प्रेमदासा दौडबाट बाहिरिएका छन् ।

प्रेमदासाको दौडबाट पछि हट्ने निर्णयले गोटाबाया राजापाक्षेलाई प्रतिस्थापन गर्ने चुनावलाई प्रतिस्पर्धात्मक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोटावाया राजापाक्षे नेतृत्वको सरकारविरुद्धको प्रदर्शनका कारण मंगलबारको संसद बैठक कडा सुरक्षाबीच सम्पन्न भएको थियो ।

तर, आन्दोलनकारीले आगामी राष्ट्रपति चयनका लागि बैठक अवरुद्ध नगर्ने घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्