उद्योग परिसंघको अध्ययन भन्छ : औद्योगिक उत्पादन क्षमतामा गिरावट आयो

काठमाडौं। नेपालका उद्योगहरूको आयको वृद्धिदरमा गिरावट आएको देखिएको छ । नेपाल उद्योग परिसंघले गरेको पछिल्लो अध्ययनले उद्योगहरुको आयमा गिरावट आएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८–०७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवाक्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ । सो प्रतिवेदनअनुसार दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको थियो । त्यस अवधिमा उद्योगहरूले कुल उत्पादन क्षमताको ६६ दशमलव ८१ प्रतिशत उपयोग गरेको देखिएको छ ।

दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो । अध्ययन (माघ, फागुन र चैत) अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (अघिल्लो वर्षको सोही अवधिमा ९ दशमलव ४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ ।

उत्पादनमूलक उद्योगहरूले चालू पूँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रैमासमा चालू पूँजीको ३४ दशमलव ४ प्रतिशत ऋण लिएका थिए । प्रतिवेदनले आव २०७८–०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो ।

उक्त अध्ययनमा सहभागीमध्ये ८१ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । परिसंघले औद्योगिक अवस्थिति प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरेको जनाएको छ । उक्त प्रतिवेदन सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री बडूले यस्ता प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्