गंगालालमा मुटुको शल्यक्रिया सेवा बन्द, घर पठाइए ४५ बिरामी

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।

अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको हाे ।

बिरामी स्वयम्ले किन्नुपर्ने याे उपकरणकाे मूल्य ४० देखि ५० हजारसम्म पर्दछ । कान्तिपुर दैनिकले उल्लेख गरे अनुसार अस्पताल प्रशासनले समयमा नै खरीद प्रक्रिया अघि नबढाउँदा अहिले बिरामी मर्कामा परेका हुन । एक महिनाअघि मात्रै खरीद सुरु गरिएकाे थियाे ।

अस्पतालले २०७६/७७ र २०७७/७८ मा कोभिड महामारीका कारण शल्यक्रिया गराउने संख्यामा उल्लेख्य कमी आएको भन्दै ‘अक्सिजेनेटर’ खरिदमा चासो दिएको थिएन । गंगालालमा दैनिक ७ देखि ८ जनाको शल्यक्रिया हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार गंगालालमा शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखा प्रमुखलगायत बीच छलफल भएको थियो । तर, छलफलले कुनै निष्कर्ष निकालेन । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘अभाव भएको हो, यसबारेमा गंगालालमै बुझ्नुस्,’ उनले यतिमात्रै भनेकाे कान्तिपुरले उल्लेख गरेकाे छ ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन–रुस युद्धले कच्चा पदार्थ अभावका कारण उत्पादनमा कमी आएकाले समयमै ‘अक्सिजेनेटर’ ल्याउन नसकेको दाबी गरे । ‘नेपालमा मात्र नभई भारतमा पनि अभावका कारण अपरेसन प्रभावित बनेको छ,’ उनले भने । तर यति संवेदनशील शल्यक्रियासँग जोडिएको उपकरण ल्याउन एक महिनाअघि मात्रै प्रक्रिया किन अघि बढाइयो भन्नेमा अस्पताल प्रशासनले ठोस जवाफ दिन सकेन ।

कमेन्ट गर्नुहोस्