स्रष्टा सूब खत्रीको ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो बजारमा

काठमाडौं । स्रष्टा सूब खत्रीले लेखेको ‘सहिदलाई सलाम’ स्वदेश गीतको सँगालो बजारमा आएको छ । भृकुटीमण्डपस्थित वाल्मीकि विद्यापीठमा मंगलबार उक्त कृतिको विमोचन गरियो । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, उपप्राध्यापक डा.बालाकृष्ण अधिकारी, समालोचक तथा उपप्राध्यापक तेजविलास अधिकारी, कलाकार देवेन्द्र थुम्केली, हेमसागर, सुइच्छा खत्री, स्रष्टा सूब खत्री लगायत उक्त कृतिको संयुक्त रुपमा विमोचन गरे ।

वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. ढकालले विमोचित कृतिमा देशभक्ति, प्रकृतिप्रेम, मातृभूमिप्रतिको अगाध प्रेम रहेको बताए । उनले आफ्नो गाउँठाउँ, माटो र परिवेशलाई कलात्मक ढंगले स्रष्टाले कृतिमा चित्रण्च गरेको बताउँदै भने, ‘कृतिमा आकर्षक भाषामा देशप्रेम, प्रकृतिप्रेम, माटोप्रतिको अगाध मायालाई प्रस्तुत गरिएको छ ।’ प्रा.डा. ढकालले कर्म गरौं भन्ने भावना कृतिमा रहेको जनाउँदै स्रष्टाको सिर्जनशील यात्राको सफलताको कामना व्यक्त गरे । उनले कृतिमार्फत सहिदलाई सम्झिएर राष्ट्रप्रति अगाध प्रेम दर्शाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा समालोचक डा. बालाकृष्ण अधिकारीले सरल भाषामा स्वदेश गीतमार्फत देशलाई स्रष्टा खत्रीले सम्झिएको बताए । उनले देशको माटो, स्वाभिमान, नागरिकप्रतिको कर्तव्य, दायित्व, पहिचान लगायतका देशप्रतिको अनुभव यस कृतिमा आएको जिकिर गरे । डा. अधिकारीले भने, ‘सरल भाषा र सामान्य कथनमा गहिरा भाव प्रकट गर्ने यी गीतहरु आधुनिक नेपाली स्वदेशगीत लेखनपरम्परामा महत्वपूर्ण छन् । यिनले स्वदेश र विदेश जहाँ रहे पनि सम्पूर्ण नेपाली जातिलाई नेपाल, नेपालीपन, नेपाली माटो, नेपाली भेष, नेपाली प्रकृति, नेपाली संस्कृति, नेपाली सौन्दर्य र नेपाली सभ्यताप्रति प्रेम गर्न र देशका लागि हाँसीहाँसी शहादत रोज्ने आदरणीय सहिदप्रति सच्चा सम्मान गर्न अभिप्रेरित गर्दछन् ।’ उनले नेपालमा रहेका असुन्दर, विकृत र असंगत पक्षलाई हटाएर विकासको अग्रगतिमा लम्कनुपर्दछ भन्ने वैचारिकता यी गीतहरुमा अन्तर्निहित भएको बताए ।

समालोचक तेजविलास अधिकारीले देश र माटोप्रति स्रष्टाले कलात्मक ढंगले कलम चलाएको बताए । कृतिमा देश विकास, प्रकृति संरक्षण, नागरिक कर्तव्य र दायित्व लगायतका विषय सबल रुपमा आएको बताउँदै उनले देशप्रतिको मायाले ओतप्रोत स्वदेश गीतले नेपालीपनलाई उजागर गरेको सुनाए । अधिकारीले भने, ‘देश र नागरिकको कर्तव्यलाई स्रष्टाले कलात्मक रुपमा चित्रण गरेको पाइन्छ ।’
कृतिकार सूब खत्रीले देशप्रेम, प्रकृति र मातृभूमिप्रतिको मायालाई गीतमार्फत प्रस्तुत गर्न खोजेको सुनाए । उनले विदेश बस्दा पहिले लेखेका राम्रा लागेका राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत छानेर कृतिका रुपमा प्रकाशन गरेको बताए । ‘जुन परिस्थितिमा रहँदा पनि देशका लागि केही न केही योगदान र सिर्जना गर्नुपर्छ भन्ने भावना आइरहन्थ्यो । यही परिवेशमा आफूले विद्यार्थी कालमा रचना गरेका कविताका फाइलहरुको खोजी गरेँ,’ खत्रीले भने, ‘ती कवितामध्ये स्वदेशगीतहरुको संख्या बढी देखियो साथै वर्तमान र भविष्यमा पनि देश र समाजका लागि थोरै भए पनि योगदान हुन्छ भन्ने लाग्यो अनि प्रकाशनको तयारीमा लागेँ । त्यसैको फलस्वरुप यस कृतिले सार्थकता पायो ।’

प्रकाशक सुइच्छा खत्रीले संग्रहमा रहेका सबैजसो गीत राष्ट्रिय भावनाले ओतप्रोत रहेको जिकिर गरिन् । उनले संग्रहमा रहेका रचना अत्यन्तै कलात्मक प्रस्तुति, स्वदेशी गुञ्जन र नेपाली माटाको हरक आउने खालका रहेको बताइन् । उनले भनिन्, ‘यस कृतिलाई पाठकहरुले अत्यन्तै रुचाइदिनुहुने छ भन्ने विश्वास लिएका छौं ।’ बागलुङ गल्कोटमा २०२६ सालमा जन्मिएका सूब वैदेशिक रोजगारीका सिलसिलामा विगत डेढ दशकदेखि जापानमा बसोबास गर्दै आएका छन् । विज्ञान र शिक्षा विषयमा स्नातक गरेपछि लगभग डेढ दशकसम्म शिक्षण पेसा अँगालेर उनी जापान गएका थिए ।

कमेन्ट गर्नुहोस्