अखिल क्रान्तिकारीको विवाद मिलाउन गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन गठित तीन सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल, रत्न ढकाल र नरेन्द्र न्यौपाने सम्मिलित कार्यदलले आज अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

 

अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर प्रतिवेदन बुझाएको सदस्य नरेन्द्र न्यौपानेले बताए । ‘हामीले अखिल क्रान्तिकारीमा जे समस्या देखिएको छ त्यसका विषयमा अध्ययन गर्यौं । समस्या समाधानको विषय प्रतिवेदनमा समेटेका छौ’ न्यौपानेले भने,‘हामीले दिएको सुझावका आधारमा विवाद साम्य हुने अपेक्षा लिएका छौ ।’

अखिल क्रान्तिकारीमा देखिएको विवाद मिलाउन तीन विकल्प दिएको छ । जसमा पहिलो विकल्पको रुपमा सिंह नेतृत्वले कार्की नेतृत्वको संयोजकलाई कारवाही फिर्ता लिनुपर्ने छ भने कार्की नेतृत्वले आफ्नो गतिविधि बन्द गरेर दुवै पक्षलाई एक ठाउँमा ल्याएर समाधानको बाटो निकाल्ने भनिएको छ । यस्तै दोस्रो विकल्पको रुपमा ‘कार्की नेतृत्वको गतिविधि बन्द गरेर उनलाई पार्टीमा उचित व्यवस्थापन गरेर निकास निकाल्ने’ भनिएको छ । अन्तिम विकल्पको रुपमा विशेष राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्वको प्रक्रियामा जाने सुझाव तयार गरिएको छ ।

अखिल (क्रान्तिकारी)मा रहेको समस्या हल गर्नको लागि असार २५ गते बसेको माओवादी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन पूर्व अध्यक्षको नेतृत्वमा समिति बनाएको थियो । जसमा पूर्व अध्यक्ष एवम् पोलिटब्युरो सदस्य रमेश मल्ल सहित केन्द्रीय सदस्यद्वय नरेन्द्र न्यौपाने, रत्न ढकाल थिए ।

कमेन्ट गर्नुहोस्