भरतपुर विमानस्थल विस्तार गर्न एक्सनमा उत्रिएको छु : मन्त्री जीवनराम श्रेष्ठ

चितवन । नेपाल सरकारका संकृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरे।

बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने बताए ।

भरपतुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमानमात्रै आवतजावत गर्ने अवस्थामा आईसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे।
‘०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा म ७ औँ मन्त्री हुँ’उनले भने ‘ सातलाई लक्की सेभेन पनि भन्ने चलन छ । महानगर प्रमुखले हान्नु पर्छ भन्नुभयो । म फेरि खेलकुद कै मान्छे हुँ । संयोग मिलेको छ । भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ ।’

पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उनको भनाई छ ।

भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जाहज ल्याण्ड गराउन मिल्ने गरी विमानस्थल विस्तारको आवश्यकता औल्याए।

‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’उनले भने ‘यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नु पर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनबासी यसमा एकजुट हुनु भएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र होईन, अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताइन्।

मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार गर्ने काममा पर्यटनमन्त्री श्रेष्ठलाई गोल हान्न आग्रह गरिन्।

विमानस्थल विस्तार गर्न मापदण्डविपरितका संरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लोभाग, अण्डरग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाई नहुने स्पष्ट पारे ।

भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्ड विपरित निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रीकालिन उडान हुँदै आएपनि भरतपुरमा भने धावनमार्गको लम्बाई अपुग भएकाले उडान गर्न सकिएको छैन । अहिले भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई १२ सय मिटर छ । यसलाई थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रीकालिन उडान भर्न सकिन्छ । यसका लागि उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजजन केन्द्र रहेको करिब ३ विगाह जग्गा समेटेर धावन मार्ग बढाएर विमानस्थलको स्तरउन्नती गर्ने गरी महानगरपालिकाले पहल गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्