कर्नाटक, बालबालिकालाई चकलेट दिनु कति घातक हुन्छ भन्ने कुरा आज भारतको कर्नाटकमा भएको घटनाले पुष्टि गरेको छ ।
बच्चालाई चकलेट दिएर स्कूल पठाउने क्रममा ठूलो दुर्घटना हुन पुगेको हो ।
समाचार अनुसार, कर्नाटकको उडुपी जिल्लामा बुधवार ६ वर्षीय सामन्वी पुजारीको घाँटीमा चकलेट अडकिन पुग्दा निधन भएको हो ।
स्कूल जान नमानेकी सामन्वीलाई उनका बाआमा र घरका अरु सदस्यले सम्झाई बुझाई गरे । तर नमानेपछि उनीहरुले चकलेट दिए । यसैबीच स्कूलको भ्यान समेत आइपुग्यो । हतारमा भ्यान चढ्ने बेला बालिकाले खोलसहितकै चकलेट खाइन ।
तर चकलेट उनको घाँटीमा नै फस्न पुग्यो । उनी बसकै ढोकामा बेहोस भएर ढल्न पुगिन ।
सामन्वीलाई होसमा ल्याउन बसचालक र परिवारका सदस्यहरुले निकै कोशिस गरे तर उनी होसमा आइनन् । तत्कालै उनलाई अस्पताल लग्दा चिकित्सकले मृत भएको घोषणा गरे । उनको शव पोष्टमार्टमका लागि मणिपाल केएमसी अस्पताल पठाइएको छ ।
घटनाको अनुसन्धान गरिरहेको बैन्दूर प्रहरकिा अनुसार, पोष्टमार्टमपछि मात्रै मृत्युको सही कारण थाहा हुनेछ ।