१७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली बनाउँदै एन्फा, खोल्यो आवेदन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट प्रणालीबाट १७ वर्षमुनिको राष्ट्रिय फुटबल टिम बनाउने भएको छ ।

एन्फाले आसन्न साफ १७ वर्ष मूनिको च्याम्पियनसिप र अर्को वर्ष हुने एएफसी यू–१७ एसियन कप छनोटलाई लक्षित गरी खुला छनोट गर्न लागेको हो । एन्फाअनुसार यही साउन ९ देखि छनोट प्रक्रिया सुरु हुनेछ ।

२०६२ पुस १७ गते यता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमा सहभागी हुन पाउने छन् ।

इच्छुक खेलाडीहरूले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ । दर्ताको समयावधि साउन ९ गतेसम्म तोकिएको छ ।

खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्म दर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र ल्याउनुपर्ने एन्फाले जनाएको छ । साफ यू–१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुनेछ ।

यस्तै, एएफसी यू–१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ । एन्फाले यसअघि यू–२० राष्ट्रिय टिम पनि खुला छनोटमार्फत नै बनाएको थियो ।

 

कमेन्ट गर्नुहोस्