ललितपुर। अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले ठेकेदार सरकारको विकास सल्लाहकार भएको आरोप लगाएका छन ।अखिल(क्रान्तिकारी)हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई सम्बोधन गर्ने क्रममा मैनालीले यस्तो आरोप लगाएका हुन् ।
इन्जिनियरिङ क्षेत्रलाई वेवास्ता गरेर चलिरहेको विकास बहस पटक–पटक असफल भइसकेको भन्दै मैनालीले विकासको बहसमा इन्जिनियरिङ समुदायको सहभागिता बढाउन सरकारलाई आग्रह समेत गरे ।
“आजको दिनमा ७० हजार भन्दा बढी इन्जिनियरहरुको संख्या एसोसशियनमा दर्ता छ । तर सरकार सिंगो इन्जिनियरिङ क्षेत्रलाई पन्छाएर ठेकेदारको सुझाव लिंदै बिकासको नाममा शालिक र धरहरा ठड्याइरहेको छ ।”मैनालीले भने
सिभिल इन्जिनियर समेत रहेका क्रान्तिकारीका उपाध्यक्ष मैनालीले स्थानीय सरकारका प्रतिनीधि अझ आफै ठेक्का पट्टामा संलग्न हुनु राज्यको लागि दुखदायी भएको बताए । उनले “जे मा धेरै कमिसन धेरै आउँछ” त्यसैलाई विकास भन्ने प्रवृति बढेको भन्दै अशन्तुष्टि पोखे । डोजर नभएको स्थानीय तहको नेता र ठेक्कापट्टा नगर्ने जनप्रतिनिधी पाउन मुश्किल रहेको उनको भनाई थियो ।
एक हप्ता सम्म चल्ने बास्केटबल प्रतियोगितामा उपत्यकाका प्रमुख इन्जिनियरङ कलेजहरुबाट १७ पुरुष र ११ महिला समुह गरी कुल २८ समुह रहेको र पुरुषतर्फ बिजेता र उपबिजेताका लागी क्रमशः ७५ हजार र ४० हजार तथा महिला समुह तर्फका बिजेता र उपबिजेता टिमलाई ४० हजार र २५ हजार नगद पुरस्कार व्यवस्था गरिने बिध्यार्थी नेता सबिन सिग्देलले जानकारी दिए ।