बीपि, नेहरु र इन्दिरा: “महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु”

भारतीय समाजवादी नेता जयप्रकाश (जेपी) नारायणले विसं ०३१ मा प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध ‘सम्पूर्ण क्रान्ति’को बिगुल फुके । त्यस बेला नेपालका अपदस्थ प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारतमा निर्वासित जीवन बिताइरहेका थिए । इन्दिरालाई थाहा थियो, बीपी त्यत्तिकै चुप लागेर बस्दैनन् । त्यसमा पनि उनी जेपीसँग पारिवारिक मात्र होइन, सैद्धान्तिक रूपले पनि नजिक छन् भन्ने बुझेकी थिइन् इन्दिराले । त्यसैले उनले आफ्ना दूतमार्फत सन्देश पठाइन् । त्यस बेला बीपी आठ वर्ष सुन्दरीजल जेलमा बिताएर प्रजातन्त्र पुन:स्थापनाको अभियानमा थिए । त्यसैको तयारी स्वरूप ०३० सालमा उनले दोस्रोपटक सशस्त्र क्रान्तिको आह्वान गरिसकेका थिए ।

यसका लागि उनी सुरुमा इन्दिरासँग आर्थिक र नैतिक दुवै समर्थन जुटाउन गएका थिए । आश्वासन त पाए तर काम भने अगाडि बढेन । किनभने, इन्दिरा चाहन्थिन्, बीपी भारतमा चलिरहेको आफूविरुद्धको समाजवादी आन्दोलनमा नलागून् । तर, बीपी चुप लागेर बस्न कहाँ सक्थे र ! भारतको स्वतन्त्रता संग्राममा दुईपटक जेलमा परिसकेका व्यक्ति । त्यसमा पनि एक कट्टर समाजवादी । उनी अदृश्य रूपमा आन्दोलनमा होमिए । अझ भनौँ, इन्दिराले आपत्काल लागू गरेपछि जेपी, चन्द्रशेखर, अटलविहारी बाजपेयी, मोरारजी देसाईलगायत थुप्रै नेता पक्राउ परे । त्यसपछि आन्दोलनले कुन रूप लिने हो ? सबै अन्योलमा थिए । त्यस बेला कर्पुरी ठाकुरलगायत अन्य नेतालाई आन्दोलनका लागि ऊर्जा दिनेदेखि योजनाका विषयमा गोप्य जानकारी गराउने काममा सक्रिय भए, बीपी । आफैँविरुद्ध लक्षित आन्दोलनमा बीपीको संलग्नता पक्कै पनि इन्दिरालाई मन पर्ने कुरा थिएन । बीपीलाई नजिकबाट चिनेका बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)का प्रोफेसर सुरेन्द्रप्रताप सिंह भन्छन्, “एक त कांग्रेसबाटै फुटेर समाजवादी पार्टी बनेको थियो, त्यसै पनि कांग्रेसीहरू समाजवादीहरूलाई प्रतिस्पर्धी ठान्थे । त्यसमा पनि इन्दिरा हटाउने अभियानमै बीपी सक्रिय भएको कुरा उनीहरूलाई मन पर्ने प्रश्नै भएन । इन्दिराबाट बीपीले सहयोग नपाएको एउटा कारण यो पनि हो ।”

यसैबीच ओखलढुंगा आक्रमणको गुप्त योजना चुहिएका कारण बीचैमा तुहियो । आक्रमणमा गएका प्राय: जवान सोलुखुम्बुको टिम्बुरबोटेमा मारिए । यो अपरेसनको असफलता बीपीका लागि स्तब्ध पार्ने खालको थियो । यही कारण नेपाली राजनीतिले नै कोल्टे फेर्‍यो ।

बीपीकै निकटस्थ बीएचयूकै राजनीतिशास्त्रका प्रोफेसर दीपक मल्लिकका भनाइमा बीपी ००७ सालमा राजा, राणा र कांग्रेसबीचको सम्झौतामा भारत बसेका कारण नेपालमा प्रजातान्त्रिक व्यवस्था मजबुत हुन नसकेको निर्णयमा पुगिसकेका थिए । त्यसैले उनी चाहन्थे, ओखलढुंगा आक्रमणपछि आफ्नै वैध सरकारको स्थापना गर्न र अन्तर्राष्ट्रिय समर्थन जुटाउन । उनले यसका लागि संसारभरि छरिएर रहेका समाजवादी देशसँग कुरा पनि गरिसकेका थिए । तर, ओखलढुंगा काण्डसँगै इन्दिराले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई दिनुसम्म दु:ख दिइन् । त्यसमा पनि विशेष ०३० सालमा हवाईजहाज अपहरणमा मुछिएका व्यक्तिहरूलाई खोजी खोजी जेल हाल्न थालियो ।

यसैबीच तत्कालीन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिँदो उपस्थितिको विश्लेषण गर्दै बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बीपीको त्यो निर्णय इन्दिराका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेत भन्छन्, “इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस् तै थियो, फुटाऊ र राज गर । बीपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बीपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।”

बीपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बीपीकहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका बीपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बीपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, “तर, बीपीले महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।”

यस्तै, सन् १९७१ को भारत–पाकिस्तान युद्धताका रक्षामन्त्री रहेका जगजीवन रामले पनि बीपीलाई फकाउन फोन गरेका थिए । सन् १९४२ मा स्वतन्त्रता संग्रामका क्रममा विहारको हजारीबाग जेल पर्दा बीपी र जगजीवन सँगै थिए । त्यसैले उनीहरूबीच राम्रो सम्बन्ध थियो । बस्नेतका अनुसार जगजीवनले फोन गरेर बीपीसँग भेट्ने समय मागेका थिए । तर, बीपीले फोनबाटै भनेछन्, ‘महारानीले पठाएको भए भेट्ने कष्ट नगर्नूस् । साथीको नाताले आउनुहुन्छ भने आउनुहोला । ’ जगजीवनले कुरा बुझिहाले । बीपीलाई भेट्न गएनन् ।

लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बीपी ‘प्रजातन्त्रमार्फत फासिस् टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बीपीले भनेका कुरा बीएचयूका प्राफेसर सिंह अझै सम्झन्छन् । भन्छन्, “इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु ।”

आफैँलाई ‘इन्दु’ नाम दिएका जेपीजस्ता ठूलो कदका नेतालाई जेल कोच्ने काममा संलग्न इन्दिराको बन्दै गरेको छविबाट बीपी खुसी थिएनन् । उनलाई थाहा थियो, इन्दिराको यो छवि नेपालका लागि पनि खतरा थियो । त्यसैले भारतीय समाजवादी नेता चन्द्रशेखर, जो पछि प्रधानमन्त्री पनि भए, कांग्रेसी कार्यकर्तालाई भन्ने गर्थे, ‘तिमीहरूजस्तो सानो देशको प्रधानमन्त्रीले हाम्रो देशको प्रधानमन्त्रीसँग टक्कर लिएको परिणाम तिमीहरूले दु:ख भोग्नुपर्‍यो ।’

०४२ सालमा विराटनगर आउने क्रममा चन्द्रशेखरले इन्दिराको विषयमा एउटा रोचक प्रसंग सुनाएका थिए । त्यस बेला चन्द्रशेखरसँगको संवादमा संलग्न पूर्वकांग्रेस नेता बस्नेत उनका भनाइ सम्झन्छन्, “त्यस बेला इन्दिराको छवि ध्वस्त भइसकेको थियो । बंगलादेश टुक्र्याएपछि रणचण्डी भएकी थिइन् उनी । बंगलादेश टुक्र्याउन नसकेको भए, आफ्नो छवि सुधार्न नेपाललाई हान्थिन् । तिमीहरूले द्विविधा पालिरहनु पर्दैन ।”

बीपी–नेहरु : समानता, असमानता

बीपीको चुलिँदो अन्तर्राष्ट्रिय ख्यातिबाट राजा महेन्द्र मात्र होइन, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु पनि सशंकित थिए । तर, नेहरु भारतजस्तो ठूलो देशमा भएको आन्दोलनका ‘प्रोडक्ट’ थिए । त्यसैले प्रजातन्त्रप्रति उनको रवैया छोरी इन्दिराभन्दा स्पष्ट थियो । तर, नेपालमा प्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउने सम्बन्धमा उनी पनि थुप्रै ठाउँमा चुकेका छन् । धेरै विश्लेषक यसलाई बीपी र नेहरुबीचको ‘इगो’ मान्छन् । तर, केहीको विश्लेषण छ, नेहरुभन्दा पनि अंग्रेजको जमानाकै सोच भएका नोकरशाह (ब्युरोक्र्याट) भारतीय राजनीतिमा हावी भए, जसले नेपालको राजनीति बिगार्न मद्दत पुर्‍यायो ।

भारत स्वतन्त्र भएपछि नेहरुले प्रशासनलाई जनताको चाहना अनुकूल बनाउन नसकेको भन्दै बीपी आलोचना गरिरहन्थे । ००७ सालको क्रान्तिमा भारतीयको भूमिका, त्यसमा पनि विशेषत: नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहको भूमिकालाई लिएर बीपी निकै असन्तुष्ट थिए । बीपीले सार्वजनिक रूपमै भारतीय राजदूतको आलोचना गरेका छन् । भनेका छन्, ‘राजदूत भनेको राजदूतजस्तै भएर बस्नुपर्छ । उसले आफूलाई मुजफ्फरपुरको डिस्ट्रिक बोर्डको चेयरम्यानजस्तो ठान्नु हुँदैन । उसले आफ्नो ठाउँ कहाँ हो, त्यो बुझ्नुपर्छ । ’ बीएचयूमा राजनीतिशास्त्रका प्राध्यापक मल्लिक भन्छन्, “बीपीको भनाइ साँचो पनि हो । चन्द्रेश्वरलाई अंग्रेजहरूले नै ‘सर’को उपाधि दिएका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्ने सम्बन्धमा आन्दोलन गर्ने शक्तिभन्दा उनी बढी सक्रिय देखिन्थे ।”

नेहरु र बीपीबीच अर्को पनि असमानता थियो । त्यतिबेला संसारभरि ‘सौन्दर्यवाद’को लहर थियो । नेहरु पनि ‘सौन्दर्यवाद’ पछ्याउँथे । तर, बीपी धेरै अर्थमा यथार्थवादी थिए । चीनले तिब्बत कब्जा गर्नुअघि बीपीले धेरैपटक नेहरुलाई भनेका थिए । तर, नेहरु चीनको आन्तरिक समस् या देखाउँथे, असम्भव भन्थे । नभन्दै चीनले तिब्बतलाई आफ्नो अधीनमा लियो । इन्दिराले सन् १९७३ मा सिक्किमलाई भारतमा विलय गराइन् । यसपछि अन्तर्राष्ट्रिय जगत्का लागि राजनीतिक रूपमा नेपाली भूमि रणनीतिक बन्न पुग्यो । बीपीको दृढ विश्वास थियो, समाजवादी सिद्धान्तले मात्र पूर्ण रूपमा देश विकास गर्न सकिन्छ । नेहरु समाजवादका कुरा त गर्थे तर लागू गर्न डराउँथे ।

००८ सालमा नेहरुकै आशीर्वादले दाजु मातृकाप्रसाद प्रधानमन्त्री भए भन्ने हेक्का बीपीलाई राम्रैसँग थियो । किनभने, ०२९ सालतिर सशस्त्र आन्दोलनका लागि भारतबाट आर्थिक र नैतिक समर्थन माग्न बीपीका भाइ गिरिजाप्रसाद कोइराला इन्दिरा गान्धीलाई भेट्न गएका थिए । त्यतिबेला इन्दिराले बीपी बूढा भएको र अस्वस्थ रहेको बताउँदै उनलाई क्रान्तिको नेतृत्व गर्न भनेकी थिइन् । र, यसका लागि आफूले सहयोग गर्ने पनि उनले बताएकी थिइन् । त्यो कुरा गिरिजाप्रसादले बीपीलाई सुनाए । त्यतिबेला बीपीको प्रतिक्रियाबारे पुराना कांग्रेस कार्यकर्ता विनोद अर्याल, जो विमान अपहरण योजनाकारमध्ये एक थिए र आठ वर्ष बीपीसँग प्रवासमा बसेका थिए, भन्छन्, “दाजु र मलाई जसरी फोडे, त्यसै गरी तिमी र मलाई फोड्न लागेका हुन् ।”

…….

०१७ सालमा आफ्नो सरकार ‘कू’ गर्न नेहरुसँग राजा महेन्द्रले स्वीकृति लिइसकेको कुरा पनि उनलाई थाहा थियो । कुमारमणि दीक्षित, जो त्यतिबेला बीपीका सहायक थिए, ले आफ्नो आत्मकथामा लेखेका छन्, ‘बीपीले नेहरुसँग सहयोग मागेका थिए । तर, उनले दिन चाहेनन् । ’ नेपालमा प्रजातान्त्रिक सरकार अपदस् थ हुँदा नेहरु कश्मीरमा थिए । उनले त्यतिबेला नेपालमा सत्ता परिवर्तन हुन्छ भन्ने आफूलाई थाहा भएको बताएका थिए । तर, व्यवस्था नै परिवर्तन हुन्छ भन्ने थाहा नभएको प्रतिक्रिया दिएका थिए । जुन बेला महेन्द्रले ‘कू’ गरे, कांग्रेसको मुक्ति सेनाबाट बनेको नेपाल पुलिसले गर्न सक्ने सम्भावित विद्रोहलाई रोक्न भारतका प्रधानसेनापति धिमैया तीन दिनअगावै नेपाल आएका थिए । तत्कालीन नेपाली सेनाका प्रमुख फिल्डमार्सल नीरशमशेर राणाले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्, ‘०१७ सालमा कू हुँदा धिमैया चितवनमा थिए ।’ त्यतिबेला कांग्रेसको विषयमा दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण पछि भारत सरकारले उनलाई बर्खास्त गरेको थियो ।

महेन्द्रले बीपीको जननिर्वाचित सरकार अपदस्थ गर्ने सर्तमा भारतलाई कालापानी बुझाए । यस्तै, सगरमाथा आधा–आधा भन्दै चीनसँग नयाँ सम्झौता गरे । यसअघि बीपी प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा सगरमाथा आधा गर्ने विषयमा चिनियाँ नेताहरूले दबाब नदिएका होइनन् । तर, उनले सगरमाथा पूर्ण रूपमा आफ्नो भूभागमा पर्ने भन्दै सम्झौता गर्न मानेका थिएनन् । बीपीको चीन भ्रमण रद्द गर्न नेहरुले हस्तक्षेप गर्न खोजेका थिए । चार वर्षअघि बीपीका सहायक दीक्षितले एक प्रसंगमा भनेका छन्, ‘नेहरुको यो कुरा सुनेपछि बीपी रिसाएका थिए ।’

बीपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

तर, बीपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस् तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छाै‌, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बीपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बीपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

“भारतमै बस् दा बीपीको निष्ठा र राजनीतिक सुझबुझका कारण नेहरुलाई लागेको हुनुपर्छ, भारतको हितमा बीपीभन्दा महेन्द्रलाई बढी उपयोग गर्न सकिन्छ । त्यसैले उनले बीपीको सरकार अपदस्थ गर्न मौन स्वीकृति दिए । तर, सत्ता हातमा आएपछि महेन्द्रले उल्टै चिनियाँ कार्ड खेले,” विमान अपहरण काण्डमा संलग्न अर्याल भन्छन् । यसैको प्रतिक्रिया स्वरूप नेहरुले कोलकाता बसेका नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष सुवर्णशमशेर राणामार्फत सशस्त्र विद्रोह गराउने प्रयास गरेका थिए । त्यतिबेला आफ्नो अभियानमा बीपीको समर्थन रहेको देखाउन नेहरुले कोइराला परिवारका कुनै एक सदस्यलाई ल्याउन सुवर्णलाई आग्रह गरेका थिए । “सुवर्णले शेखर कोइरालाका बुबा केशवप्रसाद कोइराला, जो ००७ सालमा कांग्रेसले विराटनगर कब्जा गरेपछि स्थापना गरेको सरकारका गभर्नर थिए, लाई लिएर गए,” अर्याल भन्छन् । त्यतिबेलाको कांग्रेसको सशस्त्र विद्रोह गुरिल्ला शैलीमा भएको थियो । सरकार हायलकायल भइसकेको थियो । तर, त्यही बेला ०१९ सालमा चीन र भारतबीच सीमा विवादलाई लिएर युद्ध भयो । चीनले धम्की दियो– नेपालमाथि हुने कुनै पनि आक्रमणलाई चीनले आफूमाथि भएको ठान्नेछ ।

“नेहरुले त्यतिबेला विद्रोहका लागि पैसादेखि सबै कुरा उपलब्ध गराएका थिए । तर, चीन–भारत युद्धपछि सबै रोकियो । सुवर्णले युद्धविराम गर्नुभयो । यो युद्धमा भारतको पराजय भयो,” नेपाली कांग्रेसका पाका नेता भरतशमशेर राणा भन्छन् । सुवर्णले आह्वान गरेको यो युद्धमा भरतशमशेर पनि संलग्न थिए । त्यस क्रममा उनले दुईपटक नेहरुलाई भेटेका थिए ।

राजनीतिक सोचका हिसाबले बीपी र नेहरु दुई विपरीत ध्रुवका नेता मानिन्छन् । तर, यति हुँदा हुँदै पनि दुवैमा एकअर्काप्रति आगाध स्नेह थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा ००५ सालमा बीपी दोस्रोपटक काठमाडौँमा पक्राउ परे । त्यतिबेला उनको रिहाइका लागि समाजवादी नेता राममनोहर लोहिया नयाँदिल्लीस्थित नेपाली दूतावासअगाडि अनशन बसे । उनलाई तीन महिना जेल राखियो । पछि नेहरुकै दबाबमा बीपी थुनामुक्त भए । त्यतिखेर नेहरुले बीपी पत्नी सुशीलालाई भनेका थिए कि उनका लागि घर जुन बेला पनि खुला छ । बीएचयूका प्रोफेसर सुरेन्द्रप्रतापका अनुसार नेहरुको प्रधानमन्त्री क्वार्टरमा दुई जना व्यक्तिलाई सुरक्षा जाँचबिना प्रवेश गर्ने अनुमति थियो– एक, हालका भारतीय सिनेस्टार अमिताभ बच्चनका पिता कवि हरिवंश राय ‘बच्चन’ र अर्को बीपी तथा सुशीलालाई । नेहरुको स्वभावका विषयमा भारतीय समाजवादी नेता तथा पत्रकार भोला चटर्जीलाई बीपीले दिएको अन्तर्वार्तामा पनि भनेका छन्, ‘म दुईवटा कारणले जवाहरलालजीप्रति कृतज्ञ छु । एउटा कारण निश्चय पनि व्यक्तिगत । मैले भोक हडताल (राणाहरूको जेल) गरेका बेला उहाँले दुईपटक मेरो ज्यान बचाउनुभयो । उहाँसँग मेरो नीतिगत असहमति भएपनि ।’

बीपी प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जाँदा नेहरुले भव्य स् वागत गरेका थिए । यस विषयमा बीपीले लेखेका छन्, ‘श्रीमती पनि साथै थिइन् । मेरी कान्छी छोरी त्यस बेला सानै थिई । त्यसैले ऊ पनि हामीसँग गएकी थिई । विमानस्थलमा स्वागत कार्यक्रम हुँदा हाम्री छोरीलाई इन्दिराजीले लानुभयो । उहाँहरूले मलाई विदेशी पाहुना वा सरकारी पाहुनाको व्यवहार होइन, परिवारिक पाहुनाको व्यवहार गर्नुभयो ।’

बीपी र नेहरुको बढ्दो हिमचिमलाई लिएर समाजवादी नेता लोहियाले धेरैपटक असन्तोष व्यक्त गरेका थिए । लोहिया भारतीय राजनीतिका बौद्धिक नेता त थिए नै, भारतीय संसद्भित्र उनले गरेको एउटा सशक्त भाषण ‘तीन आनाविरुद्ध १५ आना’को सधै‌ चर्चा हुने गरेको छ । सन् १९६३ मा लोहिया फररुखावाद उपचुनाव जितेर लोकसभा पुगे । त्यस बेला प्रधानमन्त्री नेहरुले आफ्ना देशका जनताले प्रतिदिन १५ आना कमाउने दाबी गरे । तर, लोहियाले प्रधानमन्त्रीको दाबीलाई झूटको संज्ञा दिँदै भारतीय जनता तीन आनामा बाँचिरहेको बताएका थिए । यसका लागि उनले सर्वेक्षण गराउन माग गर्दै नेहरुलाई लोकसभाभित्रै चुनौती दिए, ‘तपाईंले भनेको कुरा साबित भयो भने म संसद् सदस्यबाट राजीनामा दिनेछु । मेरो दाबी साबित भयो भने के तपाईं राजीनामा गर्नुहुन्छ ?’ अहिले पनि भारतमा भन्ने गरिन्छ कि हृदयघातका कारण नेहरुको निधन हुनुमा लोहियाको आगो ओकल्ने भाषण जिम्मेवार छ ।

भारतमै बेजोड छवि

बीपी स्कुले जीवनदेखि नै भारतको स्वतन्त्रता संग्राममा होमिएका थिए । कांग्रेसका अर्का नेता, बीपीको परिवारसँग निकटस्थ, प्रधानमन्त्री सुशील कोइरालाका भाइ अशोक कोइराला आमा दिव्याले सुनाएको कहानी बताउँछन्, “बीपी नौ वर्षको हुँदा आतंककारी समूहमा लाग्नुभएछ । जसको नाम थियो, बाँदर सेना । यसै समूहले बै‌क लुट्यो । त्यतिबेला उहाँ पनि पक्राउ पर्नुभयो । तर, फुच्चे भएका कारण जिल्ला म्याजिस्ट्रेटले उहाँ पनि यस्तो कार्यमा संलग्न हुनुहुन्छ भनेर पत्याउँदै पत्याएन । तुरुन्तै रिहा गरिदिएछ ।” अशोकका भनाइमा बीपी यसपछि कम्युनिस्ट विचारधारातर्फ आकर्षित भए । बीएचयूमा अध्ययनरत रहँदा उनले देवकान्त बरुवा, महावीरप्रसाद सिन्हा, देवेन्द्रप्रसाद सिंह र राजेश्वर रावजस्ता साथीसँग मिलेर विद्यार्थी संगठन नै खोलिसकेका थिए । त्यतिबेला उनी संगठन सचिव थिए, पछि अध्यक्ष भए ।

यसै क्रममा सन् १९२८ मा कम्युनिस् ट इन्टरनेसनलको छैटौँ अधिवेशनले सबै राष्ट्रवादी र लोकतान्त्रिक समाजवादीलाई ‘सोसल फासिस्ट’ भन्यो । जयप्रकाश नारायण पनि पहिले कम्युनिस्ट दर्शनबाट प्रभावित थिए । तर, उनलाई छैटौँ अधिवेशनले पारित गरेको प्रस् ताव मन परेन । यसमा पनि सोभियत संघमा स् टालिनले आफ्ना विरोधीविरुद्ध चलाएको नरसंहारपछि लगभग कम्युनिस्ट पार्टीबाटै जेपीको मोहभंग भयो । यद्यपि, माक्र्सवादी चिन्तनको आकर्षण छँदै थियो उनमा । त्यसैले देशभरि घुम्दै हिँडे । यसै क्रममा उनको बीएचयूमा भेट भयो, बीपीसँग । बीपी पनि स्टालिनको नरसंहारबाट स्तब्ध थिए । उनी ट्राटस्कीतर्फ ढल्किसकेका थिए । पछि बिस्तारै महात्मा गान्धीतर्फ आकर्षित भए । सन् १९३३ मा आचार्य नरेन्द्र देवको अध्यक्षतामा कांग्रेस समाजवादी पार्टी गठन भएपछि उनी त्यसका सक्रिय सदस्य बन्न पुगे । यसै क्रममा उनी भारतका चर्चित समाजवादी नेताहरू नरेन्द्र देव, जेपी, लोहिया, मीनु मसानी, अच्युत पटवद्र्धन, एनजी गोरे, अशोक मेहतासँग वैचारिक मन्थनमा भाग लिन्थे । उनी विहारदेखि महाराष्ट्रसम्म स्वतन्त्रता आन्दोलनमा खटिएका थिए ।

सन् १९४२ मा दुई वर्ष जेल परेपछि त उनको ख्याति भारतमै चुलिएको थियो । त्यतिबेला महात्मा गान्धीलाई आन्दोलनका हरेक रिपोर्ट थाहा हुन्थ्यो । त्यसैले उनी बीपीबाट पनि निकै प्रभावित थिए । “भारत स्वतन्त्र हुनुअघि नै बीपीको ख्याति यहाँ चुलिसकेको थियो । समाजवादीहरू उहाँको बौद्धिकताबाट प्रभावित त थिए नै, गान्धी र नेहरु पनि आकर्षित थिए,” बनारसका वरिष्ठ वकिल विनोद सिंह भन्छन् । विनोद भारतका अर्का समाजवादी नेता सागरप्रसाद सिंहका भतिजा हुन् । ०३३ सालमा बीपी मेलमिलापको नीति लिएर फर्किंदा नेपालमा उनीविरुद्ध राजद्रोहसम्बन्धी सातवटा मुद्दा थिए । बीपीको पक्षमा त्यो मुद्दा लड्न मुम्बईका पूर्वन्यायाधीश बीएन तारकुण्डेसँगै नेपाल आएको तीन सदस्यीय वकिलहरूको टोलीमा सागर पनि थिए ।

नेपालका गान्धी

भारतमै राजनीति गर्ने ठूलो अवसर थियो, बीपीलाई । तर, भारतको पक्षमा स्वतन्त्रता संग्रामको लडाइँ लड्दा पनि उनको दिमागमा थियो, नेपाल नै । पहिलोपटक गान्धीलाई भेट्दा बीपी १५ वर्षका मात्रै थिए । लोहियाले सन् १९२९ मा बीपीलाई गान्धीसँग भेटाइदिएका थिए । त्यतिबेला गान्धीको प्रश्न थियो, ‘कसको प्रेरणाले राजनीतिमा लाग्यौ ?’ त्यतिबेला बीपीले गान्धीलाई भनेको कुरा आमाको मुखबाट सुनेको भन्दै अशोक भन्छन्, “पिताजी (कृष्णप्रसाद)को प्रेरणाले । म तीन वर्षको हुँदा पिताजी नेपाल छाडेर आउनुभयो । उहाँका कारण हाम्रो परिवारका सबै सदस्यलाई पक्राउ आदेश छ । हाम्रो सबै सम्पत्ति रोक्का छ । हामी १२ वर्षदेखि भारतमा निर्वासनको जीवन बिताइरहेका छौँ ।”

विनोद सिंह बीपीलाई नेपालका गान्धी भन्न रुचाउँछन् । उनका अनुसार भारतलाई स्वतन्त्रता दिलाउन गान्धीको भूमिकाजस्तो रह्यो । नेपालमा प्रजातन्त्रको बीजारोपण गर्ने योगदान बीपीको थियो । तर, गान्धीले हतियार उठाएनन् । बीपीले भने दुईपटक सशस् त्र आन्दोलनको आह्वान गर्नु पर्‍यो । यसलाई बीएचयूका प्राध्यापक मल्लिक यसरी अथ्र्याउँछन्, “जुन देशको जग नै सामन्ती सोचमा उभिएको छ, जहाँ एउटा व्यक्ति (राजा)लाई भगवान्को अवतार मानेर ८० प्रतिशत जनताले पूजा गर्छन्, त्यसमा पनि पढेलेखेका व्यक्तिहरू राजाकै झोलीमा छन् । यस्तो ठाउँमा जनताको बाँच्न र बोल्न पाउने मौलिक अधिकारसहितको प्रजातन्त्र स्थापित गर्छु भन्नु आफै‌मा आत्मघाती निर्णय थियो । त्यो जोखिम बीपीले उठाएकै हुन् । यो पृष्ठभूमिमा गान्धीले नेपालमा अहिंसात्मक आन्दोलन गरेका भए, सायद धेरै पहिले मारिन्थे होला ।”

मूलत: बीपी गान्धीवादी थिए । तर, उनले हतियार पनि उठाए । त्यसलाई रणनीतिक मान्छन्, मल्लिक । भन्छन्, “बीपीले देशलाई राम्रोसँग बुझेका थिए । यस कुरामा लोहिया र जेपीभन्दा नितान्त भिन्न देखिन्छन्, बीपी ।

बीपीको एउटै लक्ष्य थियो, नेपाली जनतालाई उसको वैयक्तिक अधिकार दिलाउने । राणाकालमा उनी दुईपटक जेल परे । ००३ सालमा जेल पर्दा उनलाई छुटाउन महात्मा गान्धीले नै हस्तक्षेप गर्नुपर्‍यो भने ००५ सालमा नेहरुले । ६८ वर्षे जीवनकालमा बीपीले नेपालमा १० वर्ष मात्र स्वतन्त्र रूपमा राजनीति गर्न पाए । ००७ सालअघि उनको पूरै परिवार भारतमा निर्वासित थियो । ००७ देखि ०१७ सालसम्म मात्र उनले स्वतन्त्र रूपमा नेपालमा राजनीतिक गतिविधि गर्न पाए ।

जनताले दिएको मतको अपमान गर्दै राजा महेन्द्रले बीपीको सरकारलाई १८ महिनामै अपदस् थ गरे । जसका कारण उनले आठ वर्ष सुन्दरीजल जेलमा बन्दी जीवन बिताउनुपर्‍यो । ०२५ सालपछि उनी फेरि भारत निर्वासित भए । ०३३ सालमा मेलमिलापको नीति लिएर फर्किंदा पनि दुई वर्ष महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा थुनामा परे । ०३६ सालमा जनमतसंग्रहको घोषणपछिका तीन वर्ष प्रजातान्त्रिक मूल्य–मान्यता स्थापित गराउने अभियानमा सक्रिय थिए । तर, घाँटीको क्यान्सरका कारण ६ साउन ०३९ मा काठमाडौँमा उनको निधन भयो । बीपीको व्यक्तित्व र विचारधाराबाट डराएको दरबारले ००७ देखि ०४६ सालसम्म नेपालमा १० जना प्रधानमन्त्रीको प्रयोग गर्‍यो, जसमा १९ पटक त प्रधानमन्त्री फेरबदल नै गर्नुपर्‍यो । त्यतिले नपुगेर त्रिभुवन र महेन्द्रले तीनपटक शासनसत्ता आफ्नो हातमा लिए ।

कोलकाताको चर्चित मार्बल हाउसका मालिक विद्यासागर गुप्त, जसका दाजु बीपीसँग निकट थिए, बीपीलाई विचारमा अडिग, स् पष्ट नेता भन्न रुचाउँछन् । भन्छन्, “उहाँले पदलाई कहिल्यै प्रधानता दिनुभएन । उहाँको दिमागमै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद थियो । उहाँले आफ्ना यी विचारसँग सम्झौता गर्नुभएको भए, नेपालको इतिहासमा त्यति धेरै प्रधानमन्त्री हुँदैनथे ।” यस्तै प्राध्यापक मल्लिकको विश्लेषणमा ०१७ सालमा राजा महेन्द्रले बीपीलाई अपदस् थ गर्नुमा समाजवादी कार्यक्रम लागू गर्न बीपी क्रियाशील हुनु हो । यसमा पनि मुख्य त क्रान्तिकारी भूमि सुधार राजा महेन्द्रको छटपटी थियो । “जुन दिन बीपीले आफूहरूले प्रतिपादन गरेको वैज्ञानिक भूमिसुधार लागू गर्दै हुनुहुन्थ्यो । त्यही दिन कू भयो । यो लागू भएको भए नेपालको दुई सय वर्ष लामो सामन्ती संरचना भत्किन्थ्यो । त्यसैले बीपीविरुद्ध राजा र सामन्तवादी शक्ति पहिल्यै एकजुट भइसकेका थिए,” उनी भन्छन् ।

पछि महेन्द्रले आफूलाई पनि क्रान्तिकारी देखाउन नक्कल त गरे । तर, अक्कल पुर्‍याएनन् । त्यसैले महेन्द्रको क्रान्तिकारी भूमिसुधार प्रभावकारी हुन सकेन । बीपीका पीए कुमारमणिले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्, ‘जंगल राष्ट्रियकरण गर्दा सरकारले मुआब्जाको पनि व्यवस्था गरेको थियो । तर, महेन्द्रका भाइ हिमालयलाई मुआब्जा पुगेनछ । उनले हाकाहाकी भने– मुआब्जा पुगेन । बीपीले त्यतिबेला स्पष्ट जवाफ दिनुभयो– यसभन्दा बढी पाइँदैन ।’

समयको वेगलाई नाप्न सक्ने बीपीको क्षमताबाट वकिल विनोद सिंह अहिले पनि कायल छन् । उनी बीपी मेलमिलापको नीति लिएर नेपाल फर्किने बेला आफ्ना काकासँग भएको एउटा संवाद अहिले पनि सम्झन्छन् । “काकाले उहाँको सुरक्षालाई लिएर चिन्ता जाहेर गर्नुभयो,” विनोद भन्छन्, “तर, बीपीको उत्तर थियो– राजालाई थाहा छ । मलाई केही गर्‍यो भने उनको हालत के हुन्छ । त्यसैले हदै गरे जेलमा थुन्छन् ।” उनी बीपीलाई उपचार गराउन विदेश पठाउनु पनि दरबारको बाध्यता भएको बताउँछन् । “बीपी साधारण नेता थिएनन् । त्यसैले जेलमा केही भयो भने त्यही दिन राजशाही खत्तम हुन्छ भन्ने राजालाई राम्रैसँग थाहा थियो,” उनको भनाइ छ ।

बीपीको यही उचो व्यक्तित्व देखेर एकपटक भारतीय संसद्मा समाजवादी नेता मधु लिमयेले भनेका थिए, ‘इन्दिरा ठूलो देशकी नेता भएर ठूलो भइन् होला । तर, बीपी कोइरालाको कुरा गर्ने हो भने भारतमा अहिले पनि इन्दिरापछि कुनै ठूला नेता छन् भने बीपी नै हुन् । उनी अन्तर्राष्ट्रिय छवि भएका नेता हुन् ।’

बीपीको राजनीतिक उचाइ यस् तो थियो कि भारतका मात्र होइन, चिनियाँ नेताहरूसँग पनि उनको निकटस्थ सम्बन्ध थियो । बौद्धिकता, सुझबुझ, संघर्षपूर्ण राजनीतिक जीवन, राष्ट्रियता र प्रजातन्त्रप्रतिको अविचलित अडानका कारण उनले आफ्नो अन्तर्राष्ट्रिय हैसियत बनाएका थिए । अझ भारतका सत्तापक्ष र प्रतिपक्षका शीर्षस्थ नेताहरूसँग त उनको पारिवारिकजस्तै सम्बन्ध थियो । यो तहको सम्बन्ध सायदै अरू कुनै नेपाली राजनीतिज्ञको थियो, न निकट भविष्यमा हुने सम्भावना छ । राजनीतिक तहको सम्बन्ध नभएकै कारण छिमेक र अन्तर्राष्ट्रिय तहमा धेरै वर्षदेखि हेपिएको वा प्रतिष्ठा नपाएको महसुस गरिरहेको छ, नेपालले । तसर्थ, बीपीलाई अनुसरण गर्दै राजनीतिक तहमा सम्बन्ध कायम गर्न सके राष्ट्रिय स्वाभिमानको मानमर्दन हुन्न भन्नेमा आशावादी हुन सकिन्छ । तर, यसतर्फको पहल र सक्रियता राजनीतिक नेतृत्वबाटै हुनुपर्छ ।

नेपाल साप्ताहिकमा २०७३ श्रावण ६ गते प्रकाशित नवीन अर्यालको रिपोर्ट
तस्वीरः सुभास अधिकारी

 

कमेन्ट गर्नुहोस्