अख्तियारले १ हजार घुस लिएकाे भन्दै मुद्दा दर्तापछि आत्महत्या गरेका सुवेदी अदालतद्वारा निर्दाेष ठहर

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी रामहरि सुवेदी (४७) ले गत वर्ष, ६ असोज २०७६ मा आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरे। 
२२ साउनमा हाजिर हुन पुगेका उनलाई अख्तियारले ४२ दिन हिरासतमा राखेको थियो। ३१ भदौमा विशेष अदालतले धरौटीमा रिहा गरेपछि त्यसको एक साता नबित्दै उनले भ्रष्टाचारी भनेर भएको यो अपमान सहन नसकेर आत्महत्या गरेका थिए।

यो मुद्दाको सुनुवाइ गर्दै ३० असार २०७७ मा विशेष अदालतले घुस खुवाएको अभियोग लागेका घिमिरेलाई सफाइ दिने फैसला गरेको छ। पूर्णपाठ तयार भए पनि सार्वजनिक भइनसकेको उक्त फैसला उद्धृत गर्दै विशेष अदालत स्रोतले भन्यो, “सबै तथ्य प्रमाण केलाउँदा मृतक सुवेदीले पनि सफाइ पाउने देखिए पनि उनको मृत्यु भइसकेकाले उनका हकमा मुद्दा खारेज हुने ठहर भएको छ।”

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट रू. १ हजार घुस लिएको आरोपमा उनलाई अख्तियारले २२ साउनमा पक्राउ गरेको थियो। मालपोत कार्यालयको सीसीटीभी फुटेज विश्लेषण गर्दा कृष्णप्रसाद घिमिरेबाट रू. १ हजार घुस लिएको भन्दै उनलाई अख्तियारले हाजिर हुन कार्यालयमा बोलाएको थियो। 
न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिने फैसला गरेको हो। 

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार सुवेदीका हकमा मुद्दा खारेज हुने अदालतले फैसला गरेको हो। “सुवेदीको हकमा मुद्दा खारेज गर्ने फैसला भए पनि इजलासले अदालतमा पेश भएका तथ्य र प्रमाणका आधारमा उनले सफाइ पाउने देखिएको उल्लेख गरेको छ”, विशेष अदालत स्रोतले भन्यो।himalkhabar बाट साभार

कमेन्ट गर्नुहोस्