प्रदेश १ को नामः माओवादीको प्रस्ताव, किरात–कोशी

विराटनगर । प्रदेश १ को नामाकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) प्रदेश समितिले किरात–कोशी नाम हुनुपर्ने अडान लिएको छ । बैठकमा प्रदेश १ का माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीको एजेण्डा एकल पहिचान भएपनि प्रदेशसभाको समिकरण, दलहरुको अडान र वस्तुगत अवस्थाको आधारमा किरात–कोशी नाम लिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका थिए ।

आङ्बोको उक्त प्रस्तावलाई प्रदेश १ का माओवादी अध्यक्ष हर्क नेम्वाङले पनि समर्थन जनाउँदै थप व्याख्या गरेका थिए । त्यसपछि किरात कोशीमा जाने औपचारिक निर्णय गरेको माओवादीले जनाएको छ । बैठकमा जिल्ला संयोजकहरुले रिपोर्टिङ पेश गर्दै पार्टीको अवस्थाको व्रिफिङ गरेका थिए । माओवादी केन्द्र झापाले स्थानीय तह निर्वाचन हार्नुमा काँग्रेसभित्रको लफडा र आफ्नै पनि अन्तरघात भएको बताएको छ । झापा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्यले पार्टीका ३४ प्रदेश सदस्यहरु कार्यरत रहेको वडाहरु सबै हारेको भन्दै पार्टीका केन्द्रीय नेता नै आफ्ना उम्मेदवार हराउन लागेको भन्दै छानविनको माग गरेका थिए ।

मोरङका जिल्ला समन्वय समिति संयोजक विजयकुमार विश्वासले आन्तरिक एकता नभएकोले पनि गठबन्धन प्रभावकारी नभएको र नतिजा आउन नसकेको बताए । उनले मोरङमा गठबन्धन असफल भएको रिपोर्ट पेश गरे ।

यसपटक २०७४ को मत पनि सुरक्षित गर्न नसकिएको र रङ्गेलीमा २ हजार २ सय पार्टी सदस्य हुँदा पनि प्रमुखलाई १ हजार ३ सयमात्रै मत आएकोले छानविन हुनुपर्ने उनको भनाइ थियो । उदयपुरमा भने विगतमा भन्दा सुधार भएको रिपोर्टिङ भएको छ । यस्तै पाँचथरमा गठबन्धन सफल भए भएपनि काग्रेसको अन्तरघातको कारण कतिपय स्थानमा आफूहरु पीडित बन्नुपरेको रिपोर्टिङ भएको छ । धनकुटामा काँग्रेसको चुनाव चिन्ह लिएर लडेकाहरु काँग्रेस नै बन्ने खतरा भएको रिपोर्टिङ पेश भएको छ । खोटाङमा गठबन्धन सापेक्षित सफल भएपनि पार्टीभित्रको आन्तरिक एकता राम्रोसँग नहुँदा केही ठाउँमा हार व्यहार्नुपरेको रिपोर्टिङ भयो । यस्तै भोजपुरमा सापेक्षित सफल भएको रिपोर्टिङ भएको छ ।

सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न प्रदेश कमिटिको पूर्ण बैठकले चुनावी समिक्षा गरेको थियो । सो क्रममा प्रदेश एकमा पार्टीको हारका ५ कारण औंल्याएको छ । जसमा सांगठनिक अवस्था मजबुद नहुनु, काँग्रेसको गुटगत झगडाले गठबन्धन प्रभावकारी नहुनु, कतिपय उम्मेद्वार छनौटमा कमजोरी रहनु, कतिपय तहमा अन्तरघात हुनु र उम्मेद्वारी घोषणा तथा गठबन्धनको निर्णय ढिलो हुनु रहेका छन् ।

बैठकमा माओवादीका १४ जिल्लाकै जिल्ला समन्वय समितिका संयोजकहरुले रिपोर्टिङ गरेका थिए । सोही रिपोर्टिङका आधारमा प्रदेश समितिले हारका कारण ठोस गरेको हो । यस्तै माओवादी केन्द्रले अब आगामी हुने संघ र प्रदेशको निर्वाचनमा केन्द्रीत हुने निर्णय पनि गरेको छ । जसअनुसार माओवादीले प्रदेशका २८ प्रतिनिधिसभा र ५८ प्रदेशसभा निर्वाचन क्षेत्रमा संयोजन समिति गठन गरेको छ ।

अब निर्वाचनसम्म पार्टीका सबै गतिविधि त्यही समितिबाट हुने माओवादी केन्द्रले जनाएको छ । निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख र उपप्रमुख तोक्दै निर्वाचन अबधिभर पालिका कमिटिले संगठनको आन्तरिक काम मात्र गर्नेगरि निर्णय गरिएको माओवादी केन्द्रका प्रदेश सचिब गणेश उप्रेतीले जानकारी दिए । प्रदेश निर्वाचन क्षेत्र कमिटी सिधै प्रदेश कमिटीसँग उत्तरदायी हुनेछ । क्षेत्रीय कमिटिले नै निर्वाचनको योजना निर्माण गर्ने, उम्मेदवार सिफारिस गर्ने र संगठन परिचालनको काम गर्ने माओवादीले जनाएको छ ।

प्रदेश कमिटिका उपाध्यक्ष शिवकुमार डाँगीका अनुसार बैठकले निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति, जनवर्गीय संगठन,जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको भेला तथा बैठकको मिति पनि तोकेको छ । यस्तै निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भेला र अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गर्दै माओवादीले जनप्रतिनिधिलाई ५ वर्षे कार्ययोजना निर्माण गर्न निर्देशन दिएको छ । माओवादी केन्द्रले खाली रहेको प्रदेश समिति सदस्यको स्थानमा नयाँ सदस्यहरु मनोनित गर्नुको साथै प्रदेश समितिको सचिवालय गठन पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्