रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, सञ्चालकसहित २१५बढी युवायुवती पक्राउ

सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेर ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले २१५ जना युवायुवतीलाई पक्राउ गरेको छ । यस्तो कारोबार हुने तिलोत्तमा नगरपालिका वडा नं २ को एक ‘कल सेन्टर’ मा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

तिलोत्तमाको जानकी नगरस्थित चारतले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो । प्रहरीले २१५ भन्दा बढी युवायुवती नियन्त्रणमा लिएको दाबी गरेको छ ।

‘कल सेन्टर’मा तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

भारतीय र चिनिया नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा पनि खानतलासी हुँदैछ । अहिले मुचुल्का गर्ने काम भइरहेको र थप छानबिनका आधारमा कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्