शायजा भन्छिन्ः के को लाज, शानसँग पाल्छु जुङ्गा

जुँगा राख्ने एक भारतीय महिलाले अनलाइनमा मानिसहरूबाट प्रशंसा र आलोचना दुवै पाएकी छन्।

तर उनले आफ्नो अनुहारको कपालबारे चासो राख्ने मानिसहरूबाट उनलाई केही फिक्री नभएको बताउँछिन्।

“मलाई मेरो जुँगा असाध्यै मन पर्छ,” ३५ वर्षीय शायजाले आफ्नो फोटोको तलतिर ह्वाट्सएप स्टेटसमा लेखेकी छन्।

उनी भन्छिन्, “मलाई मेरो जुँगा साह्रै मन पर्छ, म त्यति मात्र भन्न सक्छु।”

शायजा आफ्नो नामको पछाडि थर जोड्दिनन्। उनी दक्षिण राज्य केरलाको कानपुर जिल्लामा बस्छिन्।

उनको ओठमाथि रौँ उम्रिएको धेरै वर्ष भइसक्यो।

उनले आफ्ना आँखीभौँ त थ्रेडिङ गरेर मिलाउँछिन् तर आफ्नो ओठमाथिका रौँ फाल्न उनले कहिल्यै आवश्यक ठानिनन्।

करिब पाँच वर्षअघि उनको जुँगा बाक्लिँदै गयो र त्यसबाट हर्षित शायजाले त्यसलाई पाल्ने विचार गरिन्।

“म यो बिना बाँच्ने कल्पना अहिले गर्दिनँ। जब कोभिड महामारी सुरु भयो मलाई मास्क मन परेन किनभने त्यसले मेरो मुख पुरै छोप्थ्यो,” उनी भन्छिन्।

उनीसँग भेट हुने धेरैले जुँगा फाल्न सुझाव दिए तर शायजाले मानिनन्।

“मेरो जुँगा भएका कारण म नराम्री भएकी छु भन्ने महसुस गर्दिनँ र जुँगा मसँग हुनु हुँदैन भन्ने पनि लाग्दैन।”

महिलाहरूलाई कैयौँ पटक उनका अनुहारमा उम्रिएका रौँहरू आवश्यक छैनन् त्यसैले फाल्न भनिन्छ वा मिलाएर राख्न भनिन्छ।

पैसा तिर्न सक्ने महिलाहरूका लागि रौँ हटाउने अनेक उपाय छ।

तर पछिल्ला वर्षहरूमा कैयौँ महिलाहरूले रौँ फाल्ने भन्ने सामाजिक मान्यता विरुद्ध जाने एवं कतिले त आफ्ना अनुहारमा उम्रिने जुँगा र दाह्रीप्रति गौरवको विषय मान्ने गर्छन्

गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा शरीरप्रति सकारात्मक हुने अभियान चलाउने हरनाम कौर दारी पाल्ने पहिलो कम उमेरकी महिला हुन्।

आफ्नो अनुहारमा उम्रिएका रौँ स्वीकार गर्दा कसरी दुर्व्यवहारहरूबीच आफैँलाई माया गर्ने भन्ने सिकाइबारे उनले अन्तरवार्ताहरूमा बोलेकी छन्

शायजाका लागि जुँगा प्रदर्शन गर्नु आफ्ना कुरा भन्नु मात्र होइन त्यो त उनको परिचयको एक हिस्सा हो।

“म मलाई जे मन पर्छ त्यही गर्छु। यदि मसँग दुईवटा जीवन हुँदो हो त शायद म एउटा जीवन अर्काका लागि बाँच्थेँ,” उनले भनिन्।

उनमा यो भावना चाहिँ वर्षौँदेखि स्वास्थ्य समस्यासँग जुझ्दा जुझ्दै आएको हो।

शायजाले गएको दश वर्षमा ६ पटक शल्यक्रिया गर्नुपर्‍यो।

एउटा उनको स्तनमा देखा परेको समस्या काटेर फाल्न, अर्को उनको डिम्बाशयमा पलाएको सिस्ट थियो भने सबभन्दा पछिल्लो चाहिँ पाँच वर्षअघि उनको पाठेघरको समस्या समाधान गर्न गरिएको शल्यक्रिया।

“हरेक वर्ष शल्यक्रियाबाट बाहिर निस्कँदा मैले फेरि शल्यक्रिया कक्षमा फेरि आउन नपरोस् भनेर सोच्ने गर्थेँ,” उनी भन्छिन्।

अनेकथरि स्वास्थ्य समस्याबारे जुझिरहँदा शायजालाई आफूलाई खुसी तुल्याउनेगरी बाँच्नुपर्छ भन्ने विश्वास झन् दृढ हुँदै गयो।

बाल्यकालमा उनी लजालु स्वाभावकी थिइन्।

उनको गाउँमा साँझ ६ बजेपछि महिलाहरू बिरलै बाहिर निस्कन्थे।

केरला विभिन्न विकासका सूचकाङ्कमा भारतको प्रगतिशील राज्यमध्ये गनिन्छ।

तर पनि धेरै ठाउँमा पितृ पितृसत्तात्मक धारणा कायम छ र महिलाहरूलाई एक्लै यात्रा गर्न वा एक्लै जीवन यापन गर्न दुरुत्साहित गरिन्छ।

शायजा बिहे गरेर तामिलनाडु आएपछि भने नयाँ प्रकारको स्वतन्त्रताबाट आफूलाई रमाइलो लागेको बताउँछिन्।

“मेरा श्रीमान् काममा जान्थे र ढिलो गरी फर्किन्थे। म ढिलोसम्म पनि घर बाहिर बस्थेँ वा आवश्यक पर्दा एक्लै पनि रातिको समयमा सामान किन्न हिँडेर जान्थेँ। त्यसप्रति कसैलाई चासो थिएन। मैले आफ्ना कुरा आफै गर्न सिक्दै जाँदा मेरो आत्मविश्वास पनि बढ्दै गयो।” उनले आफ्नी किशोरी छोरीलाई पनि त्यस्तै व्यवहार सिकाइरहेको बताउँछिन्।

मानिसहरूले उनको जुँगाबारे टिप्पणी गर्दा आफूलाई दुख नलाग्ने शायजा बताउँछिन्

महामारीका बेला जुँगा छेकिने भएकाले आफूलाई मास्क लगाउन मन नपरेको उनी बताउँछिन्।

शायजाका परिवार साथीहरूले उनको जुँगाबारे समस्या छैन।

उनकी छोरीले पनि आमालाई बेलाबखत जुँगा सुहाएको छ भन्छिन्।

तर सडकमा हिँड्दा भने आफूले अनेकथरी टिप्पणी मानिसहरूबाट सुन्नुपरेको शायजा बताउँछिन्।

मानिसहरू भन्छन्- जुँगा त पुरुषको को पो हुन्छ महिलाको जुँगा किन छ?

स्थानीय सञ्चारमाध्यममा उनको बारेमा समाचारहरू छापिएका छन्।

हालै फेसबुकमा शेअर भएको उनको समाचारमा उनीमाथि नकारात्मक टिप्पणी गरिएको उनले देखिन्।

एकजनाले आँखीभौँ मिलाउने उनले किन जुँगा नफालेकी भनेर सोधेका थिए।

उनी भन्छिन्, “के राख्ने के फाल्ने भन्ने त मेरो रोजाइ हुनुपर्‍यो होइन र?”

शायजाका साथीहरूले फेसबुकमा उनलाई नकारात्मक टिप्पणी गर्नेहरूप्रति आक्रोशपूर्ण जबाफ लेख्छन्।

तर उनी भने नकारात्मक टिप्पणीले आफूलाई नछुने बताउँछिन्।

“वास्तवमा ती टिप्पणी हेरेर कहिलेकाहीँ मलाई हाँसो उठ्छ।”
बिबिसीबाट

कमेन्ट गर्नुहोस्